महालेखा परीक्षकको कार्यालयले अर्थतन्त्रको दीर्घकालीन सुधारको लागि सरकारलाई सुझाव दिएको छ।
महालेखा परीक्षकको कार्यालयले ६२ औं प्रतिवेदन सार्वजनिक गर्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको लागि गर्नुपर्ने कामको सुझाव दिएको छ।
स्वदेशी कच्चा पदार्थमा आधरित उद्योगको प्रवर्द्धन गर्नको लागि कर र भन्सार महसुल नीतिमा नीतिगत स्थिरता कायम गर्न सुझाइएको छ।
यस्ता छन् ५ सुझाव
राजस्व, व्यक्तिगत आम्दानी र वैदेशिक मुद्रा सञ्चिति एवं वैदेशिक श्रमको उपयुक्त व्यवस्थापन, आन्तरिक रोजगारीमा वृद्धि एवं सिपयुक्त श्रमको माध्यमबाट आर्थिक वृद्धि गर्न सम्बद्ध सबै निकायको कार्य प्रक्रियालाई पारदर्शी र अनुमानयोग्य बनाउनु पर्दछ।
राष्ट्रिय अर्थतन्त्रको विकासका लागि आन्तरिक उत्पादनलाई बढावा दिन राज्यलाई तिर्नु बुझाउनु पर्ने सबै प्रकारका रकम पूर्व अनुमानयोग्य र बहन गर्नसक्ने बनाउनुपर्छ।
प्रत्येक वर्ष आवश्यक पर्ने बीउबिजन, रासायनिक मल, कृषि उपकरणलगायतको आपूर्तिलाई सुनिश्चित गर्न निश्चित रकमसम्मको सुनियोजित चक्र तय गरी सोहीअनुसार आपूर्ति गर्नु पर्दछ।
अनौपचारिक आर्थिक क्रियाकलापलाई निरुत्साहित गर्न तथा नगद कारोबारलाई न्यून गर्ने नीति अवलम्बन गर्दै मौद्रिक क्रियाकलापको लागि विद्युतीय भुक्तानीलाई प्रश्रय दिन सोमा लाग्ने विभिन्न खर्चलाई न्यून गर्नुपर्दछ।
स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना र प्रवर्द्धनको लागि कर तथा भन्सार महसुलमा नीतिगत स्थिरता कायम गर्नुपर्दछ।
राष्ट्रिय उपभोगको संरचनामा सुधार गरी बचतलाई प्रोत्साहन गर्न एवं उत्पादशील क्षेत्रमा लगानी गर्न आवश्यक व्यवस्था गर्नुपर्दछ।