अर्थमन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वार्षिक समीक्षा प्रतिवेदनले यी संस्थान सुधारका लागि विभिन्न सुझाव दिएको छ।
प्रतिवेदनले दिएका सुझावहरू यस्ता छन्ः
लामो समयदेखि बन्द वा रुग्ण रहेका जनकपुर चुरोट कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेसनल कन्स्ट्रक्सन कम्पनी नेपाल लिमिटेड, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग र नेपाल ओरियण्ड म्याग्नेसाइट प्रा.लि. जस्ता संस्थानको सम्पत्ति तथा दायित्वको अद्यावधिक मूल्यांकन गरी उपयुक्त विकल्पहरू सहित सरकारी लगानी व्यवस्थापन गर्ने।
पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका र निरन्तर घाटामा रहेका हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल औषधि लिमिटेडमा रहेको सरकारी लगानीको प्रभावकारी व्यवस्थापन गर्ने।
दुग्ध उत्पादनको क्षेत्रमा निजी क्षेत्रको उपस्थिति बलियो भई सकेको हुँदा दुग्ध विकास संस्थानलाई पुनर्संरचना गरी सहकारी मोडेल वा प्रादेशिकस्तरको सार्वजनिक संस्थानको रूपमा सञ्चालन गर्ने।
उच्च आम्दानीको सम्भावना हुँदाहुँदै पनि निरन्तर समस्याग्रस्त रहेको नेपाल वायुसेवा निगमको पुनर्संरचना गरी लगानीको स्वरूप, समयावधि र जिम्मेवारी स्पष्ट किटान गर्दै व्यावसायिक सञ्चालन तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त रणनीतिक साझेदार भित्र्याउने।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको घट्दो सञ्चालन आय र सेवा गुणस्तरको अवस्थालाई सम्बोधन गर्न रणनीतिक साझेदारी, नवीनतम प्रविधि र पुँजी विस्तार।
धौवादी फलाम कम्पनी लिमिटेडको व्यावसायिक उत्पादनको सम्भाव्यतालाई दृष्टिगत गर्दै, सरकारी लगानीको सट्टा निजी क्षेत्र मार्फत दीर्घकालीन लिजमा सञ्चालन गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाउने।