कानुन अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याइसक्नुपर्छ। त्यस हिसाबले स्थानीय तहले बजेट ल्याउने आज (मंगलबार) अन्तिम दिन हो।
धेरै पालिकाहरूले यसअघि नै बजेट ल्याइसकेका छन् भने कतिले आज ल्याउँदै छन्।
तर साधनस्रोत र जनसंख्याको हिसाबले देशकै ठूलो महानगरपालिका काठमाडौंले आज बजेट ल्याउने सम्भावना लगभग टरेर गएको छ।
पालिकाहरूले आफ्नो बजेट नगर वा गाउँ सभामा प्रस्तुत गर्नुपर्छ। बजेट प्रस्तुत गर्ने काम उपमेयर वा पालिका उपाध्यक्षको हो। तर नगर वा गाउँ सभाको बैठक बोलाउने काम मेयर वा पालिका अध्यक्षको हो।
काठमाडौंका मेयर बालेन शाहले भने अहिलेसम्म पनि काठमाडौं महानगरपालिकाको सभा बैठक बोलाएका छैनन्। सभा बैठकको सूचना मेयरको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले जारी गर्छन्। तर मेयरले त्यस्तो निर्देशन नै दिएका छैनन्। उनले बैठक नबोलाएपछि उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्ने ठाँउ छैन।
'अहिलेसम्म कुनै तयारी छैन। आज बजेट आउँदैन,' महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने।
अन्तर्सरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था अनुसार पालिकाहरूले बजेट असार १० सम्ममा ल्याउनुपर्छ।
कानुनले आजसम्मको मात्रै समय दिएको छ नि भन्ने प्रश्न गर्दा, मानन्धरले भने, 'हो तर आज बजेट आउने देखिँदैन।'
अन्तर्सरकारी वित्त व्यवस्थापन ऐनले भन्छ — गाउँ कार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने छ।'
वडाध्यक्षहरूले पनि काठमाडौं महानगरको बजेट कहिले आउने भन्ने पत्तो नभएको बताए।
'बजेट ल्याउनुपर्ने आज हो। तर हामीलाई केही थाहा छैन,' काठमाडौं वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले भने, 'चार/पाँच महिना भयो बोर्ड बैठक नगरेको पनि, हामी आफै अन्योलमा परेका छौं।'