मूल्य वृद्धिदर लगातार घट्दो क्रममा देखिएको छ।
राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार २०८२ कात्तिक महिनामा वार्षिक मूल्य वृद्धि १.११ प्रतिशतमा सीमित भएको हो।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धि ५.६० प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.६९ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धि क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनाको औसत १.५३ प्रतिशत मात्र रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा औसत मूल्य वृद्धि ४.५९ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२५ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ।
तर तरकारी उप-समूहको मूल्य १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप-समूहको मूल्य १५.१७ प्रतिशतले बढेको छ।
शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य भने ०.२३ प्रतिशतले घटेको छ।
क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.६६ प्रतिशतले र सहरी क्षेत्रको १.२६ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा मुद्रास्फीति १.८० प्रतिशत, मधेश प्रदेशमा १.७३ प्रतिशत, बागमती प्रदेशमा ०.८१ प्रतिशत, गण्डकी प्रदेशमा ०.३७ प्रतिशत, लुम्बिनी प्रदेशमा १.२७ प्रतिशत, कर्णाली प्रदेशमा १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.२६ प्रतिशत रहेको छ।
भौगोलिक क्षेत्र अनुसार काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धि १.१६ प्रतिशत, तराईमा १.२४ प्रतिशत, पहाडमा ०.८८ प्रतिशत र हिमाली क्षेत्रमा १.०६ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ।