कतार प्रहरीमा रोजगारी लगाइदिने भन्दै गैरकानुनी रूपमा अन्तर्वार्ता लिएको आरोप लागेको एसओएस मेनपावर सर्भिसलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले उन्मुक्ति दिएका छन्।
स्वीकृतिबिना अन्तर्वार्ता सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा गत मंसिर ८ र ९ गते विभागबाट खटिएको अनुगमनको टोलीले तीन वटा मेनपावरमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो।
एसओएस म्यान पावर सर्भिस प्रा.लि., होप इन्टरनेसनल र डिडी ह्युमन रिसोर्स प्रा.लि.मा अनुगमन गर्दा अन्तर्वार्ता गरिरहेको र गरिसकेको अवस्थामा फेला परेको विभागले जनाएको थियो।
त्यो बेलामा विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को उपदफा ७ बमोजिम तीन वटै मेनपावरलाई ६ महिनाको लागि सम्पूर्ण कामकारबाही निलम्बन गर्ने निर्णय गरेको थियो।
पछि विभागको निणर्यविरूद्ध मेनपावरले मन्त्रालयमा पुनरावेदन निवेदन दिएको थिायो।
गत माघ ८ गते उक्त निणर्यलाई उल्ट्याउँदै मन्त्री चौधरीले उक्त निणर्य कानुनसम्मत् भएको नदेखिँदा एसओएस मेनपावरले कामकारबाही गर्न दिन विभागलाई निर्देशन दिएका छन्।
विभागीय मन्त्रीको निर्देशनपछि त्यस मेनपावरको निलम्बन फुकुवा गर्न लागिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए।
‘मन्त्रीज्यूबाट निर्देशन आएपछि उक्त मेनपावरको निलम्बन फुकुवा गर्न लागेका हौं,’ दाहालले सेतोपाटीसँग भने।
यो विषयमा सिधै मन्त्रीस्तरबाट निणर्य हुने हुँदा आफूलाई जानकारी नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायाले बताए।
‘पुनरावेदन निवेदन कानुन शाखाबाट सिधै मन्त्रीज्यूकोमा जान्छ। त्यसपछि उहाँले नै रिभ्यू गर्ने हो। यो विषय मेरो मातहतमा नपर्ने भएकोले यसबारे मलाई केही पनि थाहा छैन,’ रायाले सेतोपाटीसँग भने।