आर्थिक वर्ष २०८१/८२ मा दक्षिण कोरियाका लागि १४ हजार २२४ जना नेपालीले श्रम स्वीकृति लिएका छन्। यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको हो।
गत वर्ष दक्षिण कोरियाका लागि नयाँ १३ हजार ७३५ जनाले श्रम स्वीकृति लिएका छन्।
कोरियाले रोजगार अनुमति (इपिएस) प्रणालीमार्फत् सन् २००८ देखि नेपाली श्रमिक लैजान थालेको हो।
सो वर्ष ३१ हजार ५ सय २५ जनाले आवेदन दिएका थिए। पहिलो साल कोरियाले दुई हजार सात सय ३३ जना पुरूष र ८१ जना महिला गरी कुल दुई हजार आठ सय १४ जना श्रमिक लगेको थियो।
त्यसपछि सबभन्दा धेरै आवेदन सन् २०१९ मा परेको थियो। उक्त वर्ष ९२ हजार जनाभन्दा धेरैले आवेदन दिएका थिए। उक्त वर्ष सात हजार जनाभन्दा धेरै कोरिया पुगे।
शाखाका अनुसार हालसम्म एक लाख १० हजार जनाभन्दा धेरै नेपाली युवा कोरिया पुगिसकेका छन्। हाल कोरियामा ५० हजार हाराहारी नेपाली श्रमिकहरू काम गरिरहेका छन्।