कोरोना महामारीदेखि बढ्न सुरू गरेको सुनको मूल्य अझै बढ्दो क्रममा छ। गत वर्ष सुन इतिहासमै पहिलो पटक तोलाको एक लाख साढे तीन हजार रूपैयाँ पुगेको थियो।
त्यसपछि कोरोना मत्थर हुँदै जाँदा विस्तारै सुनको भाउ अलिअलि कम हुँदै गएर ९० हजार हाराहारीमा कारोबार भइरहेको थियो।
तर दस दिनअघि रूसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि सुनको भाउ फेरि उकालो लागेको छ। विश्वका दुई देश लडाइँमा रहँदा विश्व बजारै अन्योलमा छ। यसले पेट्रोलियम पदार्थ, खाद्यान्नदेखि सुनचाँदीको भाउमा एकदमै धेरै प्रभाव देखिएको छ।
अब ती दुई देशको लडाइँले सुनको मूल्य अझै बढ्छ?
यस विषयमा हामीले नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्यलाई सोध्यौं।
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले सुनको भाउ अझै बढ्न सक्ने महासंघका संस्थापक अध्यक्ष शाक्य बताउँछन्। उनका अनुसार सुनको मूल्य घट्न पेट्रोलियम पदार्थको पनि मूल्य घट्न पर्छ।
'सुन खानीबाट प्रशोधन गर्न अत्यधिक मात्रामा पेट्रोलियम प्रयोग हुन्छ,' शाक्यले भने, 'त्यसैले पेट्रोलको भाउ बढ्दा सुन प्रशोधन खर्च बढ्छ अनि भाउ पनि।'
पेट्रोलियम पदार्थ उत्पादन गर्ने ठूला देशमध्ये रूस तेस्रो हो। युक्रेन आक्रमणमा लागेकाले रूसमा तेल उत्पादन कम भएको छ। जति उत्पादन भएको छ, त्यो पनि अन्य मुलुकलाई नबेची आक्रमणमा प्रयोग गर्न सञ्चिति गरेको छ।
शाक्यका अनुसार ठूला र बलिया देश लडाइँमा लागेपछि जहीँकहीँका उद्योगी तथा लगानीकर्ताको मनोबल गिर्छ। त्यसैले उनीहरू आफूसँग भएको पैसा उद्योगधन्दामा लगानी गर्दैनन्। बरू सुनजस्ता सम्पत्ति किनेर राख्छन्। त्यसले गर्दा बजारमा सुनको माग अझै बढ्छ। अनि माग धेरै हुँदा मूल्य स्वाभाविक रूपमा बढ्न जान्छ।
'व्यवसायीहरूले लगानी सुरक्षित गर्ने पहिलो कदम भनेकै सुनमा लगानी हो,' शाक्यले भने।
लडाइँको समस्या समाधान भएन सुनको भाउ अझै उक्लिने शाक्य बताउँछन्।
'यी दुई देशबीच वार्ता भएन भने शुक्रबारसम्म सुन तोलाको एक लाख पाँच हजारसम्म पुग्छ,' उनले भने, 'लडाइँ अझै लम्बियो भने यो महिनाको अन्त्यसम्ममा एक लाख १५ हजारसम्म पुग्छ।'
अब चैतको पहिलो साताबाट सुनको मूल्यमा त्यति घटबढ नहुने उनी बताउँछन्।
'सुन धेरै बढ्यो भने एउटा बिन्दुमा गएर त्यो रोकिने गरेको विगतको ट्रेन्ड देखेका छौं,' उनले भने, 'त्योभन्दा पछिको आकलन अहिले गर्न सकिँदैन।'
रूसले युक्रेनमाथि आक्रमण सुरू गरेयता सुनको मूल्य दुई हजार नौ सय रूपैयाँ बढिसकेको छ।
फागुन १२ गते अर्थात् फेब्रुअरी २४ देखि रूसले युक्रेन माथि सैन्य हमला गरेको थियो। उक्त दिन बजारमा सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भइरहेको थियो। आज आइतबार सुन प्रतितोला एक लाख एक हजार ९ सय रूपैयाँ पुगेको छ।
रूस-युक्रेन लडाइँ अवधिबीच सुनको मूल्य बढीमा ९९ सय हजार नौ सय रूपैयाँसम्ममा कारोबार भएको थियो। आइतबार भने एक लाख नाघेको हो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। फागुन १२ गते प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको थियो।