आइतबार मात्र नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ। पहिले दैनिक २० किलो सुन ल्याउन पाउनेमा अब दस किलो मात्र ल्याउन पाइनेछ।
हामीकहाँ विदेशी मुद्राको सञ्चिती कम हुँदै गएको अवस्थामा आयात कम गर्न सुनमा कडाइ गरिएको हो। सुन आयात गर्दा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिन्छ।
यो वर्ष हामीकहाँ सुन आयात अघिल्ला वर्षको तुलनामा धेरै बढेको पनि छ।
चालु आर्थिक वर्षको सात महिनामा मात्र झन्डै ३९ क्विन्टल सुन भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म ३ हजार ८ सय ८३ किलो सुन आयात भएको हो।
यति सुन भित्र्याउन करिब २७ अर्ब ६२ करोड ८३ लाख रूपैयाँ बाहिरिएको छ।
यस वर्ष सात महिनामा भित्रिएको परिमाण बराबरको सुन पोहोर पूरा वर्षमा मात्र भित्रिएको थियो। गत आर्थिक वर्ष, ०७७/०७८ मा ३ हजार ९ सय ४५ किलो सुन आयात भएको थियो। त्यसका लागि देशबाट २७ अर्ब ४८ करोड ६१ लाख रूपैयाँ बाहिरिएको थियो।
आर्थिक वर्ष ०७६/०७७ मा भने २ हजार ४ सय ४० किलो सुन आयात भएको थियो। त्यसका लागि करिब १३ अर्ब ६४ करोड रूपैयाँ बाहिरिएको थियो।
एक वर्षको अन्तरालमै सुनको आयात र यसका लागि विदेशिने मुद्रा दोब्बर बढी भइसकेको छ।
यसपालि पनि आइतबार राष्ट्र बैंकले सीमा घटाउनुअघिकै परिमाणमा (दैनिक २० किलो) आयात हुने हो भने पोहोरको तुलनामा दोब्बर हुने देखिन्छ।
पोहोर पूरा वर्षमा भित्रिएको सुन अहिले आधा वर्षमै भित्रिसकेको र त्यति नै रकम बाहिरिइसकेको छ। यो आर्थिक वर्षको पाँच महिना बाँकी नै छ। यो अवधिमा हामीकहाँ बिहेको सिजन पनि पर्छ। त्यसकारण सुन आयात अझै बढ्ने देखिन्छ। सुनको भाउ पनि पोहोरभन्दा धेरै नै बढेको छ र बढिरहेकै छ। भाउ बढ्ने र आयात सहज हुने हो भने पोहोरभन्दा सुन आयात दोब्बर हुने निश्चित छ।
यसरी ठूलो रकम विदेसिने र अत्यावश्यक वस्तु नभएकाले राष्ट्र बैंकले अहिले सुन आयातको कोटा कम गरेको हो।
अर्कातिर अहिले रूस र युक्रेनबीच चलिरहेको द्वन्द्वका कारण विश्वकै बजार प्रभावित भएको छ। डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको भाउ बढेको बढ्यै छ। यी तिनै वस्तुको भाउ एकअर्काको भाउमा निर्भर हुन्छ।
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले सुनको भाउ अझै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्य बताउँछन्।
उनका अनुसार खानीबाट सुन प्रशोधन गर्न अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ प्रयोग हुन्छ। त्यसैले पेट्रोलयमको भाउ बढ्दा सुन प्रशोधन खर्च बढ्छ अनि भाउ पनि।
'सुनको मूल्य घट्न पेट्रोलियम पदार्थको पनि मूल्य घट्न पर्छ,' उनले भने।
पेट्रोलियम पदार्थ उत्पादन गर्ने ठूला देशमध्ये रूस तेस्रो हो। युक्रेन आक्रमणमा लागेकाले रूसमा तेल उत्पादन कम भएको छ। जति उत्पादन भएको छ, त्यो पनि अन्य मुलुकलाई नबेची आक्रमणमा प्रयोग गर्न सञ्चिति गरेको छ। यसकारण पेट्रोलियम पदार्थको भाउ घट्ने कुनै संकेत देखिएको छैन।
शाक्यका अनुसार ठूला र बलिया देश लडाइँमा लागेपछि जहीँकहीँका उद्योगी तथा लगानीकर्ताको मनोबल गिर्छ। त्यसैले उनीहरू आफूसँग भएको पैसा उद्योगधन्दामा लगानी गर्दैनन्। बरू सुनजस्ता सम्पत्ति किनेर राख्छन्। त्यसले गर्दा बजारमा सुनको माग अझै बढ्छ। माग धेरै हुँदा मूल्य स्वाभाविक रूपमा बढ्न जान्छ।
'व्यवसायीहरूले लगानी सुरक्षित गर्ने पहिलो कदम भनेकै सुनमा लगानी हो,' शाक्यले भने।
लडाइँको समस्या समाधान नभए सुनको भाउ अझै उक्लिने शाक्य बताउँछन्। अहिलेकै अवस्था हेर्ने हो भने आगामी शुक्रबारसम्म सुन तोलाको एक लाख पाँच हजारसम्म पुग्ने उनको अनुमान छ। अनि लडाइँ लम्बिए यो महिनाको अन्त्यसम्ममा एक लाख १५ हजारसम्म पुग्न सक्छ।
'सुन धेरै बढ्यो भने एउटा बिन्दुमा गएर त्यो रोकिने गरेको विगतको ट्रेन्ड देखेका छौं। त्योभन्दा पछिको आकलन अहिले गर्न सकिँदैन,' उनले भने।
रूसले युक्रेनमाथि आक्रमण सुरू गरेयता सुनको मूल्य चार हजार रूपैयाँ बढिसकेको छ।
फागुन १२ गते अर्थात् फेब्रुअरी २४ देखि रूसले युक्रेन माथि सैन्य हमला गरेको थियो। उक्त दिन नेपाली बजारमा सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भइरहेको थियो। हिजो मंगलबार सुन प्रतितोला एक लाख तीन हजारमा कारोबार भएको थियो। सुनको भाउ आइतबारदेखि एक लाख नाघेको हो।
एकातिर सुनको भाउ चर्किरहेको छ, अर्कातिर आयातमा कडाइ भएको छ।
तत्काल साविकको बजारबाहेक शुभकार्यका लागि सुन किन्ने कम होलान्। राष्ट्र बैंकको नीतिले देखिनेगरीको प्रभाव नपार्न सक्छ। तर वैशाखमा बिहेका कारण पनि माग बढ्छ। त्यो बेलासम्म रूस-युक्रेनको द्वन्द्व प्रभाव र राष्ट्र बैंकको आयात कोटा अहिलेकै जस्तो भए सुनको माग र भाउ दुवै चर्को हुने सम्भावना देखिन्छ।