ठेकेदारले साना योजनाहरू पनि लामो समयसम्म अलपत्र बनाइदिँदा सर्वसाधारण सास्ती व्योहोर्न बाध्य भइरहेका छन्। कालिका नगरपालिकाको गडुवा चोकदेखि भरतपुर महानगरपालिका जोड्ने खगेडी पुलसम्मको सडक लामो समयदेखि अलपत्र पर्दा यात्रुहरु कष्टकर यात्रा गर्न विवस छन्।
कालिका नगरपालिकाले काम अलपत्र बनाउने योजनाका निर्माण कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेर नयाँ कम्पनीसँग सम्झौता गरी काम अघि बढाउन थालेको छ।
गडुवा चोकदेखि भरतपुर जोड्ने खगेडी पुलसम्मको सडक तथा बिपी चोकदेखि पूर्व ४ नम्बर वडा कार्यालयसम्मको २ किलोमिटर सडक मर्मतका लागि आर्थिक वर्ष २०७७÷०७८ मै प्रशंसा कन्स्ट्रक्सन भरतपुर–१२ सँग सम्झौता भएको थियो। तर यो कम्पनीले कामै नगरी समय गुजार्यो। योजना अलपत्र बनाएपछि २०८० चैत २९ गते कालोसूचीमा राख्न सार्वजनिक खरिद कार्यालयलाई सिफारिस गरिएको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले बताए।
लगत्तै २०८१ वैशाख २६ गते उक्त सडक निर्माणका लागि नयाँ सम्झौता गरिएको उनले बताए। आगामी असोज मसान्तसम्म निर्माण सक्ने गरी सैयान कन्स्ट्रक्सन रत्ननगर–१२ ले यो योजनाको ठेक्का पाएको छ। नगरपालिकाले आन्तरिक स्रोतको १ करोड ३३ लाख ५ हजार ६४ रुपैयाँ बजेटबाट यो योजना निर्माण गर्न लागेको हो।
‘कालिका नगरपालिका र भरतपुर महानगरपालिका जोड्ने यो महत्वपूर्ण सडक हो। निर्माण व्यवसायीले यति छोटो सडकको मर्मतमा पनि लापरबाही गरेर लामो समयसम्म अलपत्र बनायो। धेरै पटक ताकेता गर्दा पनि काम नगरेपछि सम्झौता अन्त्यगरी निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेका छौं,’ रेग्मीले भने, ‘यो सडकमा गुड्ने सवारी साधनको चाप र सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गरि पुनः नयाँ सम्झौता गरिएको छ।’
नयाँ सम्झौतापछि अहिले यो सडक मर्मतको काम धमाधम भइरहेको छ। खगेडी पुल नजिकै सडक छेउमा ग्याबिन जाली लगाउने, सडक मर्मत गरि कालोपत्रे गर्ने काम चलिरहेको नगरपालिकाका पूर्वाधार शाखाका प्रमुख इन्जिनियर किशोर खतिवडाले जानकारी दिए।
कालिका नगरपालिकाले अहिले नगरभित्रका सडकहरु फराकिलो बनाउने, नाला र फुटपाथ बनाउने काम पनि धमाधम अघि बढाएको मेयर रेग्मीले बताए। अहिले जुटपानीदेखि शाक्तिखोरसम्मको सडक स्तरोन्नती गर्ने काम भइरहेको छ। हाल भएको सडकमा दायाँ, बायाँ एक–एक मिटर कालोपत्रे गर्ने, कालिका मन्दिर अगाडिको फराकिलो क्षेत्रमा कालोपत्रे गरि सौन्दर्यीकरण गर्ने, सडक मार्किङ गर्ने काम चलिरहेको उनले बताए। क्वलचोक देखि जुटपानीसम्मको सडकलाई स्तरोन्नती गरि नमूना सडक बनाइँदैछ।
वडा नम्बर ६ मा पर्ने कालिका नगरपालिकाको मुख्य बजार खोलेसिमलदेखि शक्तिखोरसम्म दुवैतर्फ सडक विस्तारलाई नगरपालिकाले गौरवको सडकका रुपमा राखेको रेग्मीले बताए ।
यो सडकले नगरपालिकाको वडा नं। ६, ७, ८, ९ र १० लाई छुन्छ। यो पूर्वी चितवनको बकुलहरदेखि सिद्दी र शक्तिखोर–फिस्लिङ सडकको यो महत्वपूर्ण खण्ड हो।
‘यो सडक फराकिलो बनाउँदा बन्दै गरेको औद्योगिक क्षेत्रलाई पनि सहयोग पुग्छ। पहाडी क्षेत्रबाट शक्तिखोर हुँदै पदमपुर, भरतपुरतर्फ जाने सवारी साधनहरुलाई दुईतर्फी सवारीमा सहज हुन्छ,’ मेयर रेग्मीले भने, ‘विभिन्न योजनाका लागि हामीले समपुरक बजेट माग गरेका थियौं। तर एउटा पनि योजना पाइएन। नगरपालिकाको अन्तरिक स्रोत थोरै छ। तैपनी जति सकिन्छ त्यति काम गरिरहेका छौं।’
कालिका नगरपालिकाको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने संघीय सरकारको पुरानो योजना हो। यहाँ एक हजार ७ सय ४१ विघा क्षेत्रमा देशकै ठूलो औद्योगिक क्षेत्र निर्माण गर्ने भनिए पनि काम अघि बढ्न सकेको छैन।
मेयर रेग्मीले औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजना गरिदिन प्रधानमन्त्री, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मन्त्रीहरुलाई आग्रह गरेको बताए। औद्योगिक क्षेत्र निर्माण भए उक्त क्षेत्रमा आर्थिक चहलपहल बढ्ने र कालिका नगरपालिकाको विकासमा सहयोग पुग्ने उनी बताउँछन्।