सडक डिभिजन कार्यालय, काठमाडौंले कमलादीमा भासिएको सडक निर्माण प्रक्रिया अघि बढाएको छ।
डिभिजन कार्यालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार साउन ३० गते नै उक्त सडक निर्माणका लागि टेन्डर आह्वान गरेर प्रक्रिया थालिएको हो।
टेन्डरको म्याद अवधि ३० दिनको छ। कार्यालयले भ्याटसहित करिब ६० लाख रूपैयाँ न्यूनतम लागत तोकेर टेन्डर आह्वान गरेको जोशीले बताए।
म्याद समाप्त भई निर्माण सुरू हुन एक महिनाभन्दा बढी लाग्ने जोशीले बताए।
'टेन्डर सकिएर ठेक्का लगाउने प्रक्रिया अगाडि बढाउँदा एक साता त्यसैमा लाग्छ। काम सुरू हुन ४५ दिनजति लाग्छ,' उनले भने।
सडकमा स-साना क्षति हुँदा बनाइहाल्नुपर्ने भए सडक विभाग आफैले बनाउँछ। काठमाडौंको व्यस्त हुने सडक बीचमा भासिँदा विभाग आफैले किन बनाएन भनेर हामीले जोशीलाई प्रश्न गर्यौं।
उनका अनुसार सार्वजनिक खरिद नियमावलीले दस लाख रूपैयाँभन्दा बढी लागतका परियोजना टेन्डरमार्फत प्रतिस्पर्धाबाट निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। तर बनाइहाल्नुपर्ने अवस्था छ भने टेन्डर प्रक्रियामा नगई सडक विभाग आफैले बनाउन पनि सक्छ।
'दस लाखसम्म लागतको र आपतकालीन हुँदा आफै बनाउन पाइन्छ। तर आपतकालीनमा अवस्था हेर्नुपर्छ,' जोशीले भने, 'सकेसम्म सार्वजनिक खरिद नियमावलीअनुसार नै जानुपर्छ। विभाग वा सरोकारवाला सबै बसेर आपतकालीन छ, गरिदिनुस् भने चाहिँ सडक डिभिजनले आफैले बनाउने हो।'
कमलादीमा भासिएको सडक भने आपतकालीन भए पनि तत्काल बनाउन सकिने अवस्था नरहेको जोशीले बताए।
'पानी परिरहेको छ। त्यहाँ निर्माण प्रक्रिया सुरू गरिहाल्दा झन् भत्किन सक्छ। त्यसलाई चलाउनै भएन। सार्वजनिक खरिद नियमावली पनि पालना हुने र बर्खा पनि कट्ने भएकाले टेन्डरमार्फत जान लागेका हौं,' उनले भने।
कसरी बनाइँदैछ भासिएको सडक?
जोशीका अनुसार त्यहाँ चार मिटरको बक्स कल्भर्ट बन्नेछ। भासिएको सडकको गहिराइ तीन मिटर छ। रड र सिमेन्ट प्रयोग गरी दायाँबायाँबाट पर्खाल (वाल) उठाउने र माथिबाट स्ल्याब राखेर बक्स कलभर्ट बनाइने उनले बताए।
सडकमुनि टुकुचा खोला बगिरहेको छ। सडक भासिएपछि पुरातत्व विभागले समेत हेरेको थियो। विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले राणाकालमा सुरूङ निर्माण भइसकेपछि त्यहाँ कलभर्ट बनाउन दुईतिर पर्खाल थपिएको बताइन्।
'वाल उठाएर माथि काठ राखिएको र त्यसमाथि नै पिच गरिएको रहेछ। बिस्तारै काठ मक्किँदै गएर भासिएको पाइयो,' उनले भनिन्।
महानिर्देशक प्रधानांगले त्यहाँको वस्तुस्थिति सडक विभागलाई जानकारी गराइसकेको बताइन्।
'वालभित्र रहेको वीर शमशेरको पालाको इँटा निस्केको छ। त्यही इँटा र अहिलेको प्रविधि प्रयोग गरे बनाउने कुरा भएको छ,' उनले भनिन्।
डिभिजन कार्यालयका सूचना अधिकारी जोशीले पनि खानी विभागले चासो देखाएका कारण समन्वय गरिदिन सडक विभागलाई पत्राचार गरिएको जानकारी दिए।
'अहिले बनाइहाल्नुपर्ने, टेन्डरको म्याद सकिइसकेको अवस्था पनि छैन। त्यस अवधिसम्म बैठक वा छलफल भयो भने भइहाल्यो। भएन भने कसरी हुन्छ हामी पहल गर्छौं,' उनले भने।
सम्पूर्ण प्रक्रिया पूरा गरी काम सुरू हुँदा निर्माण सकिन कम्तीमा तीन महिना लाग्ने सूचना अधिकारी जोशीले बताए।
'काम गर्न सहज भएको अवस्थामा पनि कम्ती तीन महिना लाग्न सक्छ। नभए बढी लाग्न सक्छ,' उनले भने।