दिगो व्यवसाय प्रवर्द्धनमा केन्द्रित प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनीमा लगानी गर्ने सम्झौता गरेको छ।
यो साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्न योगदान गर्नेछ।
एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका जलविद्युत् परियोजनाहरूले आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवर्धन गर्न राखेको सम्भावनालाई महत्वका साथ लिँदै आएको छ।
यो साझेदारीले ऊर्जा सुरक्षामा योगदान पुर्याउँदै ऊर्जा निर्यातको सम्भावनालाई बलियो बनाउन सहयोग पुर्याउने एनआईबीएल इक्विटी पार्टनर्सको विश्वास छ।
इलेक्ट्रो पावर कम्पनीसँगको साझेदारीले नेपालको ऊर्जा सम्भावनालाई थप उपयोग गर्न सहयोग पुर्याउने एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले बताए।
‘यो परियोजना प्राकृतिक विपत्तिका जोखिमलाई न्यून गर्दै ऊर्जा उत्पादनलाई अधिकतम बनाउन डिजाइन गरिएको छ,’ उनले भने, ‘जसले स्वच्छ ऊर्जा क्षेत्रमा सुरक्षित लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई कायम राख्नेछ।’
उनका अनुसार यो लगानीले नेपालको स्वच्छ ऊर्जा सम्भावना उजागर गर्नुका साथै निजी क्षेत्रको लगानीलाई आकर्षित गर्दछ।
यस किसिमका लगानीले नेपालको ऊर्जा क्षेत्रमा परिवर्तन ल्याउन, स्वच्छ ऊर्जा प्रवर्धन गर्न र देशको ऊर्जा लक्ष्यलाई सकारात्मक प्रभाव पार्ने इलेक्ट्रो पावर कम्पनीका प्रबन्ध निर्देशक माधव प्रसाद मैनालीले बताए।
उनका अनुसार यो सहयोगले ऊर्जाको माध्यमबाट देशको दीर्घकालीन दिगोपन र आर्थिक संवृद्धिमा पनि योगदान पुर्याउने लक्ष्य राखेको छ।