तुलसीपुर–घोराही सडकखण्ड चार लेन बनाउनेसम्बन्धी बोलपत्र आह्वान भएको छ।
सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग निर्देशनालयले तुलसीपुर–घोराही सडकको स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको हो।
तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्मको झन्डै २१ किलोमिटर सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न तीन अर्ब ९९ करोड रुपैयाँको बोलपत्र आह्वान गरिएको छ।
सार्वजनिक सूचना अनुसार चैत ३ गतेभित्रै मापदण्ड पुगेका इच्छुक नेपाली व्यवसायीले बोलपत्र पेस गर्न पाउने निर्देशनालयका इञ्जिनियर प्रकाश मगरले सेतोपाटीलाई बताए। मगरका अनुसार सडक ३० मिटर चौडाइको हुनेछ।
बोलपत्र अनुसार गाडी गुड्ने भाग १४ मिटर कालोपत्रे गरिने छ। जसको दुबै तर्फको सडकको भागमा ७/७ मिटर कालोपत्रे हुनेछ। तर, सडकको कुल भाग भने १५ मिटर एकतर्फ पिच हुनेछ। बाँकी भाग फुटपाथका लागि छुट्याइने छ।
अलि घना बस्ती भएको क्षेत्रमा २ मिटरदेखि त्योभन्दा बढी साढे २ मिटरसम्मको कभरसहितको फुटपाथ नाला पनि निर्माण गरिने इञ्जिनियर मगरले बताए।
त्यस्तै, चार लेन सडकको बीचमा अवस्था हेरी साढे १ मिटरदेखि साढे २ मिटरसम्मको मेडियम पनि निर्माण गरिने छ। बीचको मेडियम सडक सौन्दर्यकरणका लागि हुनेछ। त्यसमा बोट बिरूवा लगाउनेदेखि सडक सुरक्षाका कुराहरू पनि राख्न सकिने छ।
तुलसीपुर–घोराही सडकखण्ड सहरी सडक भएको हुँदा राष्ट्रिय सडक मापदण्ड अनुरूप बिबिएम र आसपाल्ट विधिबाट कालोपत्रे हुनेछ। बिबिएम ६ सेन्टिमिटर र अस्पाल्ट ४ सेन्टिमिटर मोटाइमा कालोपत्रे गर्ने प्रावधान राखिएको छ।
सम्झौता भएको मितिले तीन वर्ष अर्थात् ३६ महिनाभित्र काम सक्ने गरी बोलपत्र आह्वान भएको छ।
इञ्जिनियर मगरका अनुसार चैत ३ गतेसम्म बोलपत्र आह्वानको मिति रहेको हुँदा त्यसपछि प्राविधिक मूल्याङ्कनको काम हुनेछ। त्यो काम सक्ने झन्डै २० दिन जति लाग्न सक्ने अनुमान गरिएको छ। तर, प्राविधिक मूल्याङ्कनको पाटोमा केही जटिलता आए वा मुद्दा परेको खण्डमा त्यो अवधि थप लम्बिन पनि सक्छ।
सम्बन्धित विज्ञहरूका अनुसार प्राविधिक मूल्याङ्कनमा पास भएका निर्माण कम्पनीहरूको त्यसपछि बल्ल आर्थिक मूल्याङ्कनको पाटो खुल्ने छ। त्यो मूल्याङ्कनको पाटो कम्तीमा पनि हप्ता दिनसम्म हुन सक्ने अनुमान गरिएको छ।
यो सबै कार्य पूरा गर्दा कम्तीमा पनि चैत महिनाभर लाग्न सक्ने अनुमान गरिएको छ।
त्यसपछि बल्ल संयुक्त रूपमा प्राविधिक र आर्थिक मूल्याङ्कनको पाटो अगाडि बढ्ने छ। त्यो कामको लागि विभिन्न विभाग र ठाउँहरूमा फाइल घुम्दै जाने हुँदा वैशाख महिनासम्म पहिलो आसयको सूचना वा बोलपत्र आह्वान हुनेछ। त्यो सूचनाका आाधारमा मात्रै बोलपत्र स्वीकृत हुने अवस्था रहने सम्बन्धित विज्ञहरू बताउँछन्।
बोलपत्र स्वीकृत भएपछि १५ दिनको म्याद राखेर स्वीकृत कम्पनीलाई सम्झौता गर्न आउनु भन्ने सूचना सार्वजनिक हुनेछ। त्यति प्रक्रिया पूरा गर्दा जेठको पहिलो हप्तासम्मको समय गुर्जिन सक्ने सडक डिभिजन कार्यालय दाङका प्रमुख तथा इञ्जिनियर दिपेन्द्रबहादुर विष्टले सेतोपाटीलाई बताए।
काम सरासर अगाडि बढेमा जेठको पहिलो हप्तासम्म चार लेन सडकको स्वीकृति पाएको कम्पनीसँग सम्झौता हुन सक्ने आकलन विष्टले गरे। त्यो प्रक्रिया पूरा भएपछि साइटको प्रक्रिया पूरा गर्न थप ७ देखि १५ दिनको अवधि हुनेछ। यो सबै प्रक्रिया पूरा गर्दा नयाँ आउने आर्थिक वर्षसम्मको समय चाहिन सक्ने विष्टले बताए।
नयाँ आर्थिक वर्ष सुरू भएपछि सडक निर्माणको काम नहुने र वर्षा सकिएपछि मात्रै काम सकारेको निर्माण कम्पनीले चार लेन सडक निर्माणको कामको सुरूआत गर्न सक्ने उनले बताए।
मदन भण्डारी राजमार्ग निर्देशनालयले सम्झौता भई सबै काम पूरा भएपछि त्यो कार्यान्वयनको पाटो हेर्ने जिम्मा बल्ल सडक डिभिजन कार्यालय दाङ मातहतमा आउने विष्टले जानकारी दिए। त्यसपछि मात्रै बहुप्रतिक्षित तुलसीपुर–घोराही सडकखण्ड स्तरोन्नतिको काम अगाडि बढ्ने उनले बताए।
तुलसीपुर–घोराही सडकखण्ड चार लेनमा विस्तार गर्न भन्दै झन्डै पाँच वर्षअघि भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोग दुई करोड २१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भई काम सुरू भएको थियो। त्यतिखेर चार लेन सडक विस्तारको काम भारतीय ठेकेदार कम्पनीले पाएको थियो। जसले नेपालको प्रतिनिधिका रूपमा तुलसीपुरकै अनुप पाण्डे लगायतलाई काम सुम्पेको थियो। तर, उनीहरूले काम गर्न नसकेपछि सडकखण्ड अलपत्र अवस्थामा पुगेको थियो।
पहिलेको पिच भत्काएर, सडक खनेर दुर्घटना बढ्दै गएपछि र काम अलपत्र अवस्थामा पुगेपछि नेकपा माओवादी नेतृ तथा तत्कालीन सञ्चार मन्त्री रेखा शर्माको पहलमा भारतीय निर्माण कम्पनीसँगको ठेक्का सम्झौता नेपाल सरकारले रद्द गरेको थियो। त्यसपछि भत्काइएको सडकको पिच र खनिएका खाडलहरू पर्नुका लागि नेपाल सरकारले दुई करोड बढी खर्चेर सडक टालटुल गर्ने काम गरेको थियो।
नेपाल सरकारले पहिलाका भारतीय ठेकेदारसँगको सम्झौता रद्द गरी फेरि भारतीय एक्जिम बैंकलाई लगानीका लागि आग्रह गरे पनि ऊ लगानी गर्न इच्छुक नभएपछि लामो प्रतिक्षापछि नेपाल सरकारको झन्डै ४ अर्ब लगानीमा तुलसीपुर–घोराही सडकखण्ड चार लेनमा विकास गर्नका लागि यतिखेर बोलपत्र आह्वान भएको हो।
चार लेन सडकखण्डको काम गर्नका लागि अब विद्युत पोल सार्नेदेखि रूख काट्ने लगायतका कार्य समेत यसपालि आह्वान भएको बोलपत्रमा रकममा स्पष्ट उल्लेख गरिएको हुँदा ती कार्यका लागि वा विद्युत प्राविधिकरणले पोल स्थानान्तरण गर्न ढिला सुस्ती नहुने अपेक्षा गरिएको सरोकारवालाहरूले बताएका छन्।
यसअघि भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोगमा चार लेन सडक निर्माणका लागि तुलसीपुरको हात्तीखौवा चौकदेखि घोराहीको कुइरेपानीसम्म २८ किलोमिटरको दुरी राखिएको थियो।
अहिले नेपाल सरकार आफैले लगानीमा चार लेन सडक निर्माण गर्ने प्रक्रिया सुरू गर्दा तुलसीपुरको हात्तीखौवा चौकदेखि घोराहीकोको डिके पेट्रोल पम्पसम्मको करिब २१ किलोमिटर मात्रै सडक कालोपत्रे गर्ने गरी बोलपत्र आह्वान भएको छ।
हाल घोराहीको कटुवा खोलाभन्दा पश्चिमको घोराही– लमही सडकखण्ड अन्तरगको क्षेत्र चार लेन बनाउने योजना भने बोलपत्रमा समावेश छैन।
पहिला तुलसीपुर र घोराही बीचको सडकखण्ड चार लेनको निर्माण सकेपछि पुनः घोराही–लमही सडक खण्ड विस्तारको काम हुने सरोकारवालाहरूले बताएका छन्।
सम्बन्धित समाचार:
तुलसीपुर–घोराही सडक विस्तारका लागि अर्थ मन्त्रालयले दियो झन्डै ४ अर्ब स्रोत सहमति
सम्झौता भएको दुई वर्षपछि घोराही-तुलसीपुर चार लेन सडकको काम सुरू
इआइए नै नगरी तुलसीपुरको पहाडमा धमाधम डोजर चलाइँदै