चक्रपथ विस्तारअन्तर्गत कलंकी–महाराजगञ्ज खण्ड विस्तारमा विलम्ब भइरहेका बेला महाराजगञ्जदेखि चप्पल कारखानासम्मको खण्ड भने सडक डिभिजन काठमाडौंले धमाधम निर्माण गरिरहेको छ।
सात सय मिटर उक्त खण्ड चालू आर्थिक वर्षमै ठेक्का लागेर धमाधम निर्माण भइरहेको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए।
कलंकीदेखि महाराजगञ्जसम्मको खण्ड चिनियाँ पक्षले बनाउने तयारी गरिरहेको छ। त्यसका लागि चिनियाँहरू आएका पनि छन्।
महाराजगञ्ज, नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको खण्ड भने सडक डिभिजन काठमाडौंले नै बनाइरहेको छ। ‘चिनियाँहरूले बनाउने भनेकै स्ट्याण्डर्डमा हामीले सडक बनाइरहेका छौं,’ उनले भने।
उक्त खण्ड अम्बुजा/एसके/काली जेभी काठमाडौंले निर्माण गरिरहेको हो।
निर्माणाधीन महाराजगञ्ज–चप्पल कारखाना खण्डको ड्रइङ डिजाइन। निर्माणाधीन महाराजगञ्ज–चप्पलकारखाना सात सय मिटर सडक दायाँबायाँ सर्भिस ट्र्याकसहित १० लेनको हुनेछ। उक्त खण्ड विस्तारका लागि चालू आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन भएको हो।
यही आर्थिक वर्षमा सक्ने गरी काम भइरहेको र आगामी वर्षमा विस्तार थप्दै जाने सडक डिभिजन काठमाडौंका प्रमुख भण्डारीले बताए।
पहिलो खण्डअन्तर्गत महाराजगञ्जदेखि धोबीखोलासम्म निर्माण हुनेछ। यो खण्ड दुई किलोमिटर हाराहारी छ। दोस्रो खण्ड, तीनकुने–सिनामंगल हुँदै धोबी खोलासम्म निर्माण हुनेछ।
यो खण्ड सडक डिभिजन काठमाडौंले नै निर्माण गर्ने भण्डारीले बताए। महाराजगञ्जदेखि चप्पल कारखाना खण्डको अहिलेसम्म वित्तीय प्रगति २५ प्रतिशत छ।
चक्रपथ अन्तर्गत कोटेश्वर–कलंकी खण्ड ६ वर्षअघि चीन सरकारको अनुदानमा निर्माण पूरा भइसकेको छ। उक्त खण्ड पनि सर्भिस ट्र्याकसहित १० लेनको छ।
तस्बिरहरू:


















सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी