प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल-नारायणगढ सडक अब निर्माण सम्पन्न हुने अवस्थामा पुगेका बताएका छन्।
विभिन्न कार्यक्रमका लागि शुक्रवार चितवन पुगेका प्रधानमन्त्री ओलीले समयमा निर्माण सम्पन्न नहुँदै सरकारले तीव्र आलोचना खेप्दै आएको बुटवल-नारायणगढ सडकखण्डको पछिल्लो अवस्थाबारे स्थलगत रुपमै पुगेर जानकारी लिएका थिए।
सडक निर्माण भइरहेको पूर्वी नवलपरासीको गैंडाकोट पुगेका ओलीले निर्माण कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडका प्रतिनिधिलाई भेटेर सडकको प्रगतिबारे जानकारी लिएका थिए।
सो क्रममा उनले अहिलेसम्म जे-जस्ता कमीकमजोरी र ढिलाइ भएपनि अब भने निर्माण कार्यमा कुनैपनि कमजोरी र ढिलाइ नगर्न निर्देशन दिएका थिए।
सडकको अनुगमनपछि प्रधानमन्त्री ओलीले पछिल्लो समय सडक विस्तारको कामले तीव्रता पाएको बताएका थिए।
‘पहिले निर्माणको क्रममा धेरै उल्झन आएका थिए, अहिले धमाधम काम भइरहेको पाइएको छ। निर्माणको काम यहि गतिमा निरन्तर अगाडी बढिरहनुपर्छ,’प्रधानमन्त्री ओलीले भने।
सडक निर्माणको काम अगाडि नबढेको अवस्थामा ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको पनि उनले बताए।
प्रधानमन्त्री ओलीले बुटवल-नारायणगढ सडकखण्ड देशकै प्रमुख राजमार्ग रहेकोले यो सडक निर्माण ढिलो हुँदा जनताले दुःख पाइरहेको पनि बताए।
गैंडाकोटदेखि बुटवल राजमार्ग चौराहासम्मको ११३ किलोमिटर लामो यो सडकलाई दुई खण्डमा विभाजित गरि २०७५ साल चैतदेखि स्तरोन्नतिको काम सुरु गरिएको थियो।
गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.५ किलोमिटरलाई पुर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्मको ४८.५ किलोमिटरलाई पश्चिम खण्ड गरि दुईवटा ठेक्का मार्फत काम भइरहेको छ।
दुबैतर्फको अधिकांश सडक एकतर्फी रुपमा कालोपत्रे सम्पन्न भइसके पनि सबैभन्दा अप्ठ्यारो मानिएको दाउन्ने क्षेत्रको करिब १३ किलोमिटर सडक भने कालोपत्रे हुन सकेको छैन।
भौगोलिक रुपमा समेत सबैभन्दा अप्ठ्यारो अवस्थामा रहेको र सडकको अवस्था समेत दयनीय बनेपछि पछिल्लो एकसातादेखि सवारी साधनलाई केही घण्टा आवतजावत बन्द गरेर सडक निर्माणको काम भईरहेको छ।
प्रधानमन्त्री ओलीको अनुगमनको क्रममा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडकको भौतिक प्रगतीबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मा पनि सहभागि थिए।
सचिव शर्माले ११३ किलोमिटर लामो सडकमध्ये २० किलोमिटर बाहेक सडक बर्खा अगाडि नै कालोपत्रे भएर सकिने जानकारी गराएका थिए। उनले दाउन्नेको १३ किलोमिटर र पुलहरुको वारिपारी केही मिटर गरी करिब २० किलोमिटर मात्रै सडक बर्खा लाग्नु अगाडि कालोपत्रे हुन बाँकी रहने बताए।
अहिले पूर्वी र पश्चिम खण्डको सिमा क्षेत्र दाउन्ने खण्डका कारण यात्रुहरुले सबैभन्दा बढि सास्ती पाइरहेका छन्। घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलाम्मे हुने सडकका कारण सवारी साधन चिप्लिएर घण्टौं सम्म आवागमन बन्द गर्नुपर्ने अवस्था हुने गरेको छ।
वैशाख लाग्दासम्म पूर्वी खण्डको ६३ प्रतिशत र पश्चिम खण्डको ६१ प्रतिशत भौतिक प्रगती भइसकेको मन्त्रालयका सचिव शर्माले जानकारी दिए।
प्रधानमन्त्री ओलीले सोहि क्रममा एमाले गैँडाकोट नगर समितिले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका थिए। सो क्रममा उनले अहिले पनि एमाले नै प्रमुख राष्ट्रिय शक्ति भएको भन्दै अब निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्नेमा बताए।
‘एमाले नहुने हो भने अहिलेसम्म देश के भइसक्थ्यो भन्न सकिँदैन, यो राष्ट्रिय शक्ति त हो नै,’ उनले भने।
प्रधानमन्त्री ओलीले संविधानले नवलपरासीको पूर्वी भागलाई नवलपुर भनेर नामाकरण गर्नुपर्नेमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) राख्ने काम गरेको भन्दै संविधान संशोधन हुँदा नाम परिवर्तन गरिने बताए।
‘संविधान जारी गर्ने बेलामै नाम मिलाउनुपर्ने थियो, अब संविधान संशोधन गर्दा अनुसूची बदलेर भएपनि जिल्लाको नाम नवलपुर राख्छौं,’ उनले भने।
प्रधानमन्त्री ओलीले संविधानअनुसार नवलपुर कान्छो जिल्ला भएपनि देशकै मध्यभागमा रहेकोले यो जिल्लाले विकास र समृद्धिका हिसाबले अगाडि रहेको बताए। नवलपुरको विकासका लागि आफूले सक्दो पहल र काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।