चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या समाधानका लागि भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सोमबार बिहानै चितवन पुगेका छन्।
लोडसेडिङ सुरू भएको भनेर चौतर्फी आलोचना भइरहेको बेला शाक्य फिल्ड पुगेका हुन्।
'चनौली शाखामा देखिएको समस्या समाधानका लागि मर्मत कार्य जारी छ,' शाक्यले भने, 'प्राविधिक समस्यालाई जति सक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत आपूर्तिको व्यवस्था गर्नका लागि म अहिले चितवन आइपुगेको छु।'
उनले चितवन पुगेर त्यहाँको प्राविधिक समस्याहरू बुझ्ने, छिटो समाधानको उपाय खोज्ने लगायतका काममा खटिरहेको पनि जानकारी दिए।
'म बिहान चितवन पुगेको हुँ। मेरो टिमका साथीहरूसँग पनि यहाँका बारेमा थप जानकारी लिइरहेको छु। आजै बेलुकासम्ममा चनौलीको समस्या समाधान हुनेमा आशावादी छौं। भोलिबाट नियमित विद्युत आपूर्तिको अवस्थामा पुग्छौं,' उनले भने।
भरतपुर वितरण केन्द्रको निरीक्षण गरेर त्यहाँ देखिएका केही समस्याका बारेमा पनि छलफल भएको उनले बताए।
उनले मधेस प्रदेशको जनकपुरलगायतसम्म पुगेर त्यहाँको डिप बोरिङ जडानका लागि के भइरहेको छ र त्यसले विद्युत आपूर्तिमा के–कस्तो प्राविधिक समस्याहरू देखिन सक्छ भन्ने विषयमा पनि अनुगमन गर्ने र बुझ्ने बताए।