स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन्।
आइतबार विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले निजी क्षेत्रलाई प्राधिकरणले अवरोध पुर्याइरहेको बताए।
प्राधिकरणको ध्यान विद्युत उत्पादन कसरी रोक्ने, पीपीए कसरी नगर्ने, आरसिओडीको म्याद कसरी नथप्ने, उत्पादन भएको विद्युत कसरी नलिने, कन्टिजेन्सी कायम कसरी राख्ने र समग्रमा ऊर्जा उद्यमीहरूलाई कसरी पेलेर बहादुरी देखाउने भन्ने रहेको देखिन्छ। यो सोचमा परिवर्तन हुनु जरुरी छ,’ उनले भने।
ऊर्जा आयोजनामा साना–ठूला गरी करिब ६५ लाख लगानीकर्ता आवद्ध भइसकेकोले ऊर्जा क्षेत्रका कुनै पनि नीति नियमहरू परिवर्तन गर्दा, सेयर बजारका नीति नियमहरू परिवर्तन गर्दा ध्यान दिनुपर्ने बताए।
गत आर्थिक वर्षबाट नेपाल खुद विद्युत निर्यातकर्ता देश बनेको र ७५३ स्थानीय तहमध्ये ७३४ स्थानीय तह अर्थात ९७.५ प्रतिशत पालिकाका विद्युतको पहुँच पुर्याउनमा निजी क्षेत्रको पनि उल्लेख्य योगदान रहेको डाँगीले बताए।
‘२०५५ सालमा विद्युत खरिद विक्री दर (पिपिए) फाइनल भएपछिका २५ वर्षमा तत्कालीन अवस्थामा २५४ मेगावाट उत्पादन रहेको अवस्थाबाट अहिले ३६ सय मेगावाट पुर्याउँदै खुद निर्यातकर्ता देश बन्न होस् वा ७३४ स्थानीय तहमा विद्युत पहुँच पुर्याउन होस, निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ,’ डाँगीले भने।