यति बेला धेरैलाई चासो छ, नागढुंगा सुरूङ मार्गबाट कहिलेदेखि गाडीहरू गुड्न पाउलान्?
अझ भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गएको दसैंमै नागढुंगा सुरूङ मार्गबाट यात्रुवाहक सवारी चलाउन दिन निर्देशन दिएसँगै अहिलेसम्म किन सञ्चालन आएन भन्ने प्रश्न धेरैले गरिरहेका छन्।
मन्त्री घिसिङले दसैं अवधिमा काठमाडौंबाट बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरूङ मार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
दसैंमा सडक सुरक्षा सम्बन्धमा सिंहदरबारमा बसेको यातायात व्यवस्था विभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको बैठकमा सुरूङ सञ्चालनको अन्तिम तयारीमा रहेको भन्दै दसैंका लागि खुला गर्न निर्देशन दिएका थिए।
तर त्यस बेला सुरूङ सञ्चालन आएन।
सुरूङ निर्माण कम्पनीले सुरक्षासँग सम्बन्धित संवेदनशील कामहरू बाँकी रहेको भन्दै तत्काल सञ्चालनमा ल्याउन स्वीकृति दिएन।
हामीले सुरूङ मार्गको के–के काम बाँकी छ र कहिलेदेखि सञ्चालन आउँछ लगायत विषयमा आयोजनासँग कुराकानी गरेका छौं।
आयोजनाका अनुसार हाल आयोजनाको मुख्य सबै काम सकिएको छ। उप-आयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले अब सुरूङ मार्गको पश्चिमतर्फ पानी चुहिने समस्या तथा पहिरो व्यवस्थापन लगायत केही काम बाँकी रहेको बताए।
यो आयोजना विकासका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो।
आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच सन् २०२३ अप्रिल (४२ महिना) भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो।
कोभिड महामारीका कारण पनि आयोजना निर्माणको काम पछाडि धकेलिएको भन्दै ठेकेदार कम्पनी हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप्न प्रस्ताव गरेको थियो।
आयोजना कार्यालयले ८६ दिन म्याद थपेको थियो। म्याद थपपछि २०२३ जुलाईभित्र आयोजना बनिसक्नुपर्ने थियो।
तर उक्त अवधिमा पनि काम नसकिएपछि २०२४ अप्रिल २५ सम्मका लागि म्याद थपिएको थियो। त्यसमा पनि अवधि थपिएर अक्टोबर २०२५ सम्म म्याद दिइयो। पछिल्लो पटकको म्याद सकिएर थपका लागि प्रक्रिया अगाडि बढेको सूचना अधिकारी पन्थीले बताए।
आयोजनाले सञ्चालनका लागि अन्तर्राष्ट्रिय सेवाप्रदायक कम्पनी छनोट गर्न ठेक्कासमेत खुलाइसकेको छ।
यो सुरूङ नेपालमा पहिलो रहेको र दक्ष जनशक्तिमार्फत सञ्चालन गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेर जिम्मा दिने आयोजनाले जनाएको छ।
इच्छुक कम्पनीले आगामी पुस २ गते (डिसेम्बर २५) सम्म बोलपत्र पेस गर्न सक्नेछन्।
छनौट भएको कम्पनीले नेपाली कम्पनीसँग मिलेर पाँच वर्ष सुरूङ सञ्चालन गर्नेछ। उक्त कम्पनीले मर्मत लगायत सम्पूर्ण काम गर्नेछ। सञ्चालन खर्च वार्षिक ४० करोड रूपैयाँसम्म लाग्ने अनुमान गरिएको छ।
कम्पनी छनौटपछि सञ्चालनको मिति तय हुने पन्थीले बताए। अब म्याद थप गरेर सबै काम सक्ने र माघको अन्तिमदेखि सञ्चालन ल्याउने तयारी रहेको उनको भनाइ छ।
नागढुंगा सुरूङ मार्ग नेपालको पहिलो आधुनिक सुरूङमार्ग हो। यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ छन्।
मुख्य सुरूङको लम्बाई २.७ किलोमिटर (२६८८ मिटर) छ। रेस्क्यु सुरूङको लम्बाई २५५७ मिटर छ। दुवै सुरूङ ब्रेक थ्रू भइसकेका छन्।
रेस्क्यु सुरूङ मुख्य सुरूङबाट ३० मिटर फरकमा छ। रेस्क्यु सुरूङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ। यो सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ। आपतकालीन अवस्थामा प्रयोग हुने यो सुरूङबाट दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउँछन्।
मुख्य सुरूङ र रेस्क्यु सुरूङमा विभिन्न सात ठाउँमा क्रस प्यासेज राखिएको छ।
सुरूङभित्र दुर्घटना भएको अवस्थामा वा अन्य आपतकालीन अवस्थामा ती क्रस प्यासेजबाट एम्बुलेन्स तथा दमकल जस्ता साधन आवतजावत गर्न सक्छन्।
आयोजनाको मुख्य सुरूङमा सवारी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ। यसमा दायाँबायाँ साढे तीन/तीन मिटर र बीचमा तीन मिटर सडक छुट्टाछुट्टै रेखांकन गरिएको हुन्छ। बीचको तीन मिटर दुवैतर्फका सवारी साधनले प्रयोग गर्न सक्छन्।
कुनै सवारी बिग्रियो भने पनि छेउमा अड्याएर राख्ने ठाउँ होस् र अन्य सवारी सजिलै आवतजावत गर्न सकून् भनेर बीचमा तीन मिटर खाली राखिएको आयोजनाले बताएको छ।
सुरूङको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एक/एक मिटर उल्लेख गरिएको छ।
आयोजनामा तीनवटा अन्डरपास निर्माण भइसकेका छन्। त्यस्तै चारवटा बक्स कल्भर्ट छन्। एउटा ओभरपास छ। तीनवटा पुल र एउटा फ्लाइओभर समेत छ। यी सबै संरचना निर्माणको काम सकिइसकेको छ।
सुरूङबाट सबै किसिमका सवारी साधनले यहाँबाट गुड्न पाउने छैनन्। दुईपांग्रे (मोटरसाइकल स्कुटर) लाई सुरूङ मार्गबाट आवतजावत गर्न दिइने छैन।
आयोजनाका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू, ग्यास बोकेका सवारी सुरक्षाका हिसाबले सुरूङबाट जान पाउँदैनन्।
यस्ता सवारी साधन अहिलेकै सडक प्रयोग गरेर गुड्नुपर्छ। त्यस्तै मापदण्डभन्दा बढी ठूलो आकार बनाएर सामग्री बोकेका मालबाहक ट्रकहरू पनि सुरूङ मार्ग प्रयोग गर्न पाउँदैनन्।
सुरूङबाट मापदण्डअनुसार सामग्री बोकेका मालबाहक ट्रक, एम्बुलेन्स, दमकल तथा यात्रुवाहक लगायत खतरारहित सवारी साधनहरू गुड्न पाउने छन्।
सुरूङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ। परीक्षणको अवधिमा निःशुल्क प्रयोग गर्न दिने र त्यसपछि शुल्क तिर्नुपर्नेछ। सुरूङमार्ग हुँदै काठमाडौं भित्रिँदा कार तथा भ्यानहरूलाई ६५ रुपैयाँ तोकिएको छ।
मिनीबस, ट्रकलाई एक सय १५ रूपैयाँ, ठूला बस तथा ट्रकलाई दुई सय ६० रूपैयाँ र भारी उपकरणलाई ६ सय रूपैयाँ तोकिएको छ।
सुरूङमार्ग हुँदै काठमाडौंबाट बाहिरिँदा कार तथा भ्यानलाई ६० रुपैयाँ, मिनीबस तथा ट्रकलाई ८० रुपैयाँ, ठूला बस तथा ट्रकलाई दुई सय रूपैयाँ र ठूला उपकरणलाई दुई सय ५० रूपैयाँ शुल्क तोकिएको छ।
यो आयोजनाको कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराएको छ। यसको ब्याजदर ०.०१ प्रतिशत छ। ६ अर्बभन्दा बढी सरकारको लगानी छ। कुल लगानी २२ अर्बभन्दा बढी लाग्ने अनुमान छ।