पाँचथर प्रहरीले पाँचथर सदरमुकाम फिदिमस्थित एक फर्निचर उद्योगमा छापा मारी ठूलो परिमाणमा प्रतिबन्ध लगाइएका सालको काठसहित अन्य प्रतिबन्धित काठ बरामद गरेको छ।
जिल्ला वन कार्यालय पाँचथर र जिल्ला प्रहरी कार्यालय पाँचथरले सदरमुकामस्थित पाथिभरा फर्निचर उद्योगमा सोमबार साँझ छापा मार्दा कटान र विक्रीमा प्रतिबन्ध लगाइएका काठ फेला पारेको हो ।
उद्योगको परिसरमा ३ सय ११ थान काठ फेला परेको र नाप जाँचको काम भइरहेकोले कति क्युफिट भन्न नसकिएको सहायक वन अधिकृत उपेन्द्र यादवले बताए।
विक्रम लिम्बूले सञ्चालन गर्दै आएको उक्त फर्निचरमा प्रहरीले छापा मारिरहँदा स्थानीयले भने व्यवसायिक फर्ममाथि अन्याय गरेको भन्दै विरोध जनाएका थिए।
काठ बरामदमा अवरोध गर्न खोजेपछि प्रहरीले सशस्त्र प्रहरीको सहयोग लिएर ट्याक्टरमार्फत् काठ बरामद गरेको थियो।
बरामद गरिएको काठ वन कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख बामदेव गौतमले बताए।
बरामद गरिएको काठको मूल्य लाखौं हुने अनुमान गरिएको छ ।