नवलपुरको गैंडाकोटमा आजदेखि मौलाकाली केबुलकार सञ्चालनमा आएको छ।
नयाँ वर्षको अवसर पारेर आजदेखि सेवा सुरू गरिएको मौलाकाली केबुलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए।
आज बिहान ६ बजेदेखि केबुलकार सञ्चालनमा आएको हो।
केबुलकारको बटम स्टेसनबाट गैंडाकोट नगरपालिका वडा नं. ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रूपमा यात्रा गरेका थिए।
केबुलकारमार्फत् मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ।
करिब दुई किलोमिटर लामो केबुलकारमा १२ वटा गोन्डोला छन्।
हाल केबुलकारले दुईतर्फी मूल्य ५ सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए।
उनका अनुसार केबुलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरूको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरूका लागि रु २७५ को टिकट दर राखिएको छ।
केबुलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरूको लागि नि:शुल्क सेवा दिने जनाएको छ।