प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं-तराई/मधेस द्रुतमार्गको निर्माणका लागि खोकनाको सिकाली मन्दिरलाई छाडेर नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको बताएका छन्।
बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफलमा प्रधानसेनापति सिग्देलले पूरक प्रतिवेदन तयार भएको बताएका हुन्।
‘खोकना प्रस्थान बिन्दु पनि हो। ६.५ किलोमिटरसम्म लम्बाइ छ। ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण ठाउँ छ। सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि किरियापुत्री बस्ने ठाउँहरू छन्। त्यसलाई छोडेर नै नयाँ डिपिआर तयार पारेका छौं,’ उनले भने।
छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्ने बताए। उनले २०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको बताए। त्यही अनुसार द्रूत गतिमा काम भइरहेको उनले बताए।
‘हाम्रो भनाइ र सोचाई काम समयमा सक्नुपर्छ भन्ने हो। ०८३ को चैत्र अन्तिमसम्म सक्नुपर्ने दायित्व छ। त्यसमा हामी प्रतिवद्ध छौँ। अहिले करिब करिब ४३ प्रतिशत काम सकिसकेको छ। अब हुने काम छिटो सकिने खालका छन्। धेरै जसो समय इआइए गठन, टेण्डरको सम्झौतासम्मको समयमा धेरै समय गएको छ। समस्या समाधानहरु हुने हो भने काम नसकिने भन्ने होइन। अब रफ्तार लिनसक्छ। काम धेरै सहज खालका छन्। नेपाली सेनाले समयमा काम सक्छ भनेर मानिदिनुहुन आग्रह छ। त्यसैअनुसार हामी काम गर्दछौं।’
-न्युज एजेन्सी नेपाल