कुनैपनि बैंक तथा वित्तीय क्षेत्र तथा विभिन्न संस्थाले एकाउन्ट खोल्दा होस् या अन्य सेवा प्रदान गर्दा होस् केवाइसी विवरण भर्न लगाइन्छ।
ग्राहक पहिचान विवरण भर्नुको मुख्य उद्देश्य भनेकै आफ्ना ग्राहकको पहिचान गर्न सहज होस् र अन्य गलत व्यक्तिले कारोबार तथा सेवा लिन नपाओस् भन्ने नै हो।
केवाइसीमा खाता नम्बर, नाम (आफ्नो¸ बुवा/आमा र हजुरबुवाको नाम), पेशा, नागरिकता वा पासपोर्ट वा सवारी लाइसेन्स नम्बर, डेभिट वा क्रेडिट कार्ड लिएको भए त्यसको नम्बर, ठेगाना जस्ता कुरा उल्लेख गरिएको हुन्छ।
आम ग्राहकको कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन पछिल्लो समय नयाँ तरिकाले केवाइसी भर्ने तथा ग्राहक प्रमाणीकरण गर्न सकिने सेवाको सुरूवात भएको छ।
यसअघि केवाइसी प्रमाणीकरणका लागि भुक्तानी सेवा प्रदायकका मोबाइल वालेटमा एपबाटै नागरिकता तथा पासपोर्ट फोटो अपलोड गरेर केवाइसी भर्न तथा अपडेट गर्न सकिन्थ्यो।
एकाउन्ट खोलिसकेपछि नागरिकता तथा पासपोर्टको अगाडि र पछाडिको तस्बिर खिची पासपोर्ट साइजको फोटो एपबाटै अपलोड गरी केवाइसी भर्न तथा अपडेट गर्न सकिन्थ्यो।
तर अहिले केही व्यक्तिले अर्काको नाममा रहेको सिम, नागरिकता, पासपोर्ट जस्ता महत्वपूर्ण कागजातको दुरूपयोग गरी सामाजिक सञ्जालको दुरूपयोग हुने गरेको छ।
यसलाई रोक्न भुक्तानी प्रदायकलगायतले केवाइसी भेरिफिकेशनको नयाँ प्रक्रिया अपनाइरहेका छन्।
अब प्रयोगकर्ताले ग्राहक पहिचान प्रमाणीकरणका लागि नयाँ तरिका अपनाउन सक्छन्।
नयाँ तरिकामा ग्राहकले पहिलो चरणमा व्यक्तिको सम्पूर्ण विवरण राख्नु पर्नेछ। यस्तै दोस्रो चरणमा लोकेशन उल्लेख गर्नुपर्नेछ भने तेस्रो चरणमा आफूले लाइभ फोटो खिचेर मात्र अपलोड गर्नु पर्नेछ।
अन्य व्यक्तिले नागरिकता, पासपोर्ट र भोटर आइडी जस्ता कागजातको दुरुपयोग गरी मोबाइल वालेट खोल्न नसकुन् भन्ने उद्देश्य राखेर यस्तो प्रक्रिया अपनाइएको हो।
प्रयोगकर्ताले पासपोर्ट साइजको फोटोका साथै आफूले लाइभ तस्बिर खिचेर मात्र मोबाइल वालेटमा भेरिफाइ हुन पाइनेछ। अनि मात्र मोबाइल वालेटमा केवाइसी पूर्ण रुपमा अपडेट भएको मान्यता पाइनेछ।
अबदेखि मोबाइल वा ल्यापटपमा सेभ गरेका तस्बिर मोबाइल वालेट एपले स्वीकार गर्दैन। लाइभ तस्वीर दुवै कान देखिने गरी खिच्नुपर्नेछ।