रूपन्देही देवदह भलुहीकी विष्णु भण्डारी घर नजिकैको प्याकेजिङमा काम गर्थिन्। चार पाँच महिना पहिले प्याकेजिङ उद्योग बन्द भएपछि उनको रोजगारी पनि बन्द भयो।
साँझबिहान घरधन्दा गरेर छोराछोरीलाई स्कुल पठाएपछि दिनभरी सानोतिनो काम गरे पनि घरखर्च चलाउने पैसा कमाउँथिन्। प्याकेजिङ बन्द भएपछि उनको आम्दानीको बाटो पनि बन्द भयो।
पछिल्लो एक सातायता भने घर नजिकैको गार्मेन्ट उद्योगले नि:शुल्क सिलाइकटाइ तालिम सञ्चालन गरेपछि उनी कपडा सिलाउन सिक्दै छन्।
‘एक हप्तामात्रै भयो तालिममा आउन थालेको। सिंगोमा धागो राखेर मेसिन चलाउन सिक्दै छु,’ स्कटमा मुज्जा बनाउन सिक्दै गरेकी विष्णुले भनिन्।
घरधन्दामै दिन बिताउने देवदह चरंगेकी विनीता लम्तरी पनि मेसिन चलाएर आत्मनिर्भर बन्ने बाटो खोज्दै छिन्।
गतवर्ष मात्रै देवदह भलुहीमा संचालन भएको डुंगारी गार्मेन्ट्स उद्योगले स्थानीय महिलाहरूलाई रोजगारी दिने भन्दै अहिले नि:शुल्क तालिम संचालन गरेपछि विष्णु र विनीताजस्तै ६ सय महिलाहरूले तालिम लिइरहेका छन्।
उद्योगका संचालक महेश थैवले स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिने भन्दै नि:शुल्क तालिम संचालन गरिएको बताए।
‘स्थानीय स्तरमा दक्ष कामदार पाइँदैनन् बाहिरबाट ल्याएकाहरू लामो समय टिक्न सक्दैनन् स्थानीय स्तरमै दक्ष कामदार उत्पादन गरेर रोजगारी दिनेगरी तालिम संचालन गरिएको हो,’ थैवले भने।
उद्योगले ६ सय जना महिलालाई विभिन्न सिफ्टमा गरी तालिम संचालन गरेको हो।
४५ दिनसम्म तालिम लिएपछि सहभागीहरूलाई उद्योगमै रोजगारी दियने संचालक थैवले बताए।
‘हामीलाई कामदार आवश्यक छ, उहाँहरूलाई रोजगारी चाहिएको छ। यहाँ उत्पादन हुने कपडा सिलाउन सक्ने भएपछि तलब दिएरै राख्छौं,’ उनले भने।
उद्योगले पाइन्ट, टिसर्ट, स्कर्ट, ट्राउजर लगायत अर्डर अनुसारका कपडा उत्पादन गर्दै आएको छ।
सिप सिकेपछि गाउँमै रहेको उद्योगमा रोजगारी पाइने भएपछि सिलाइ सिक्नेतर्फ महिलाहरू आकर्षित भएका छन्।
दैनिक २ घण्टा चल्ने तालिममा महिलाहरूको निकै भिड लाग्ने गरेको छ।
उद्योगभित्र लस्करै राखिएका मेसिनमा कपडा सिलाउन उनीहरू व्यस्त देखिन्छन्।
प्रशिक्षार्थीहरू धेरै भए पनि उद्योगमा रहेका प्रशिक्षकहरूलाई सिकाउन भ्याइनभ्याइ हुने गरेको संचालक थैवले बताए।
छोटो समयमा सीप सिकेर आत्मनिर्भर बन्ने बाटो मिल्ने भएकोले सिलाइकटाइमा पुरूषको तुलनामा महिलाको आकर्षण बढ्न थालेको छ।
‘घरमा एक जनाले मात्र कमाएर अब परिवार पाल्न गाह्रो छ, दिनभरी घरमा बस्नुभन्दा सीप सिकेपछि उद्योगमा रोजगारी पाइन्छ, आफैंले पसल खोल्छु भन्न पनि भयो,’ विष्णुले भनिन्।
उद्योगले पनि रोजगारीको लागि पुरूषभन्दा महिलालाई नै प्राथमिकता दिने गरेको छ।
‘पुरूषहरूभन्दा महिलाहरू इमानदार सँगै टिकाउ पनि हुन्छन्, स्थानीयलाई नै राख्ने भएपछि उनीहरूलाई पनि आउन जान सजिलो हुने भयो,’ थैव भन्छन्।