राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र एशियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार एडिबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेटवार्ता भएको हो।
भेटवार्तामा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र सचिव केवल प्रसाद भण्डारी थिए भने एडिबीका तर्फबाट कन्ट्री डाइरेक्टर अर्नौड कौकोइस, प्रमुख अर्थशास्त्री जान हानसेन, वरिष्ठ कार्यक्रम अधिकृत अञ्जन पाण्डे र कार्यक्रम विश्लेषक सृजना राजभण्डारी सहभागी थिए।
भेटवार्तामा आयोग र एडिबीबीच सहकार्यका विषयमा छलफल भएको थियो।
छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे।
भेटमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाहरूको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो।
उपाध्यक्ष डा. श्रेष्ठले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनाहरूमा लगानी आवश्यक रहेको बताए।
उनले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने भन्दै त्यस्ता परियोजनाहरूमा लगानी गर्न एडिबीसँग अनुरोध गरे।
एडिबीका कन्ट्री हेड कौकोइसले हालै एडिबीले नेपालमा गरेको लगानीको पोर्टफोलियो रिभ्यू भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनाहरूमा लगानी गर्न एडिबी तयार रहेको बताए।
एडिबीले लगानी गरेका नेपालका विकास परियोजनाहरूको पोर्टफोलियो सुधारिएको समेत उनले बताए।
एडिबीले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ।
सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा त्यस्तो लगानी गरेको हो।
गत वर्ष मात्र एडिबीले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो।
पोर्टफोलियो रिभ्यू कार्यक्रममा एडिबीले सहरी खानेपानी तथा सरसफाई आयोजना, बागमती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृत समेत गरेको थियो।
मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिशूली जलविद्युत आयोजना लगायतमा दर्जनौँ आयोजनाहरूमा एडिबीले लगानी गरेको छ।