नेपालमा उच्च शिक्षा अध्ययनको अवस्था र वैदेशिक शिक्षा आर्जनका अवसर र चुनौती लगायतका विषयमा केन्द्रित रहेर अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले आइतबार काठमाडौंमा आयोजना गरेको एडुक्लेभमा सहभागी वक्ताहरूले वैदेशिक शिक्षामा विद्यार्थीलाई रोक्न नहुने बताए।
कार्यक्रममा अधिकांश वक्ताले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि उचित वातावरण बनाउनुपर्ने तर सँगसँगै नेपाल फर्काउने वातावरण पनि बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि नेपाल सरकारले अवसर सिर्जना गर्नुपर्ने उनीहरूको भनाइ थियो।
वैदेशिक शिक्षाका लागि नेपालबाट हजारौं युवा युरोप, अमेरिका, क्यानाडा, जापान, कोरिया जस्ता मुलुकमा पुग्ने गरेका छन्। वक्ताहरूले उच्च शिक्षाका लागि नेपालमै पनि गुणस्तरीय शिक्षा प्रदानमा जोड दिनुपर्ने कुरा राखे।
कार्यक्रममा तीन वटा प्यानल डिस्कसन भएका थिए।
'हाम्रो शिक्षा प्रणाली, नयाँ दृष्टिकोणको आवश्यक्ता' शीर्षकमा पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, शिक्षा मन्त्रालयका पूर्वसचिव दीपेन्द्र विक्रम थापा, इक्यानका अध्यक्ष प्रकाश पाण्डे र अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवालले आफ्ना भनाइ राखेका थिए।
कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारले एनओसी बन्द गर्नुभन्दा विश्वविद्यालय राम्रो बनाउनुपर्नेमा जोड दिए।
‘समयमा जाँच र समयमा रिजल्ट आउनुपर्यो। नेपालकै विश्वविद्यालयहरू राम्रा भएभने पढ्नका लागि अन्त को जान्छ?,’ पौडेलले भने, ‘शिक्षालाई आजको अवस्थामा कसले पुर्यायो त? पार्टीमा आबद्ध भएको नाताले म पनि त्यसको भागिदार छु।’
पौडेलले आर्मी र प्रहरीको संख्या बढाउने कि शिक्षकको संख्या बढाउने? भन्नै प्रतिप्रश्न गरेका थिए।
यसैगरी, पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपालमा कुनै पनि विद्यार्थीले बाहिरको जस्तो गुणस्तरीय शिक्षा भनेर खोजी गर्दा गुणस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउनु पहिलो दायित्व हुनुपर्नेमा जोड दिइन्।
यस्तै, 'विदेशिने नेपाली विद्यार्थी : अवसर वा जोखिम' शीर्षकमा पूर्व पर्यटनमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पा, शैक्षिक अभियन्ता सविन जोशी, डिस होम मिडियाका सञ्चालक सुदीप आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरे र ग्लोबल इक्वालिटीका फाउन्डिङ म्यानेजिङ पार्टनर मनिष थापाबीच अन्तर्क्रिया भएको थियो।
विदेश पढ्न जाने क्रमसँगै उतै पलायन हुने चलनले देशलाई ठूलो नोक्सानी भइरहेको नेता भट्टराईको भनाइ थियो।
उनले भने, ‘पैसा कमाउन सकिन्छ, तर बौद्धिकताको पलायन भयो भने त्यो कमाउन गाह्रो छ।’
उनले पछिल्लो समय बाहिरको विश्वविद्यालयमा पढ्ने चाहिँ जान्ने र नेपालको विश्वविद्यालयमा पढ्ने नजान्ने भन्ने किसिमको भाष्य निर्माण भएकोमा चिन्ता व्यक्त गरे।