भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनको माग गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाएको छ।
२५६७ औं बुद्धपूर्णिमा एवं लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्न हेलिकप्टरमार्फत् लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई संघका पदाधिकारीहरूले लुम्बिनीमै पुगेर ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरूले प्रधानमन्त्री प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमणको सुरूआत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने माग गरेका छन्।
प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ज्ञापनपत्रमा राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलाइन्सहरू आकर्षित नहुने भएकोले नेपाल वायुसेवा निगमका जहाजबाट सेवा सुरू गर्नुपर्ने, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा दिल्ली, भैरहवा मलेसिया, भैरहवा कतार सेक्टरमा उडान सुरू गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै, बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार यही भएकाले विश्वका सबै बौद्धिष्ट मुलुकहरूलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन ज्ञापनपत्रमार्फत् प्रधानमन्त्रीसँग माग गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुनेमध्ये कम्तीमा २५ प्रतिशत अन्तर्राष्ट्रिय विमानहरूलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने व्यवस्था मिलाउन माग गरिएको छ।
ज्ञापनपत्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट १ वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने र विमानस्थलमा जडान गरिएका विद्युतीय उपकरणहरू शिघ्र सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठका अनुसार विमानस्थललाई लक्षित गरी होटल व्यवसायमा मात्रै ६० अर्ब बढी लगानी भइसकेको छ।
अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको लगानी असुरक्षित भएको छ।
निजी क्षेत्रको लगानी सुरक्षित गराउने दायित्व सरकारको भएको भन्दै सुरक्षित वातावरणका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए।
गत वर्ष जेठ २ गते विमानस्थल उद्घाटन हुँदा खुसी भएका व्यवसायी अहिले निराश बनेको भन्दै श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा पुन: सञ्चालन गरिए यस क्षेत्रको मात्र नभई देशकै आर्थिक अवस्था चलायमान हुने बताए।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले संघको मागप्रति आफू सकारात्मक रहेको र छलफल गरी आवश्यक कदम अगाडि बढाउने बताएका थिए।