सम्मुत कर्णालीका लागि साझा अठोट भन्ने नारासहित आयोजना गरिएको कर्णाली प्रदेशस्तरीय नीति संवाद तथा युवा महोत्सव सम्पन्न भएको छ।
बाल क्लवका पूर्व पदाधिकारीहरूद्वारा गठित संस्था युवालयको आयोजना तथा राष्ट्रिय युवा परिषदको समन्वयमा आइतबार र सोमबार सञ्चालन गरिएको भएको नीति संवाद तथा युवा महोत्सवबाट २० बुँदे घोषणापत्र जारी गरिएको छ।
महोत्सव अवधिमा भएका अन्तरक्रिया तथा छलफलबाट आएका सुझावहरूको आधारमा २० बुँदे घोषणा पत्र जारी गरिएको हो। उक्त घोषणापत्रलाई सरोकारवाला निकायलाई हस्तान्तरण गरिने युवालयका कार्यकारी निर्देशक सञ्जीव अधिकारीले बताए।
कर्णाली प्रदेश युवा परिषद गठन, प्रदेश युवा नीति निर्माण, कर्णाली प्रदेशमा सीमान्तकृत समुदायभित्रका दलित, मुस्लिम तथा अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवा समूहहरूलाई लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निशिुल्क व्यवस्था गरी रोजगारीको सुनिश्चितता गर्ने, युवाहरूको स्वरोजगार अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा प्रदेश मन्त्रालयको पहलमा तालिम तथा वित्तीय साक्षरता कक्षाको सुनिश्चितता, सहुलियत रूपमा उचित पुँजी प्राप्त गर्न सकिने संयन्त्रको व्यवस्था गर्न पहल गर्ने घोषणापत्रमा उल्लेख छ।
डिजिटल माध्यमबाट गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिबाट जोगाउन सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न सरोकारवालहरूसँग पहल गर्ने, युवाहरूलाई कुलतबाट जोगाउन नितिगत व्यवस्था गर्दै आवश्यक सचेतीकरणका कार्यक्रमहरू आयोजना गर्न पहल गर्ने, स्थानीय तथा प्रादेशिक तहको योजना तर्जुमा गर्दा अनिवार्य रूपमा युवाको सहभागिता गराउन पहल गर्ने, प्रदेश भित्रका युवा समूहहरूको क्षमता विकास र संस्थागत विकासमा सहयोग र आवद्धताको व्यवस्थागर्ने पनि घोषणापत्रमा उल्लेख छ।
यौनिक तथा अल्पसंख्यक समुदायको पहिचान गर्न चेतनामूलक कार्यक्रम गरी रोजगारीको व्यवस्था गर्न नीति निर्माणको पहल गर्ने, युवाहरूको मनोभावनाको मध्यनजर गर्दै पढाइमा सहजताका लागि कोष स्थापना गर्ने र पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न स्थानीय तथा प्रादेशिक सरकारलाई आग्रह गर्ने, सबै प्रकारका अपांगत भएका युवाहरू, यौनिक तथा लैंगिक अल्पसंख्यक युवाहरू एवम् पछाडि पारिएका युवाहरूको संरक्षण तथा विकासका लागि आवश्यक व्यवस्था गर्ने लगायतका प्रतिबद्धता २० बुँदे घोषणापत्रमा गरिएको छ।
युवा सम्मेलनको समापनमा बोल्दै कर्णाली प्रदेशका समाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले प्रदेश सरकारले युवाहरूको हितमा हुनेगरी निर्णय गर्ने बताए।
प्रदेशको स्रोतसाधनलाई समुचित प्रयोगमार्फत् रोजगारीको बाटो सिजर्ना गर्दै विदेशिन बाध्य युवालाई स्वदेशमा स्थापित हुनेखालको नीति निर्माणमा प्रदेश सरकार लाग्ने उनले बताए।
मन्त्री पोखरेलले युवाहरूको क्षमता अभिवृद्धिसँगै सकारात्मक बाटोमा लगाउन तीनै तहका सरकारले आ-आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिए।
‘जिल्लादेखि स्थानीय तहसम्मै पुगेर युवाहरूलाई सक्षम बनाउने कार्यक्रम गर्नुपर्छ, पछिल्लो समय कुलतमा लागेका युवाहरूलाई पनि सक्षम युवाले सुधार्नेतर्फ लाग्नु उपयुक्त हुन्छ,’ उनले भने।
समृद्ध कर्णालीका लागि साझा अठोट भन्ने नाराका साथ सञ्चालन गरिएको दुई दिने युवा महोत्सवलाई हेल्भेटास, प्लान ईन्टरनेशनल, सेभ द चिल्ड्रेन, अक्सफार्म लगायतका युवाको क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरूले सहयोग गरेका थिए।
महोत्सवमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा आबद्ध १०० भन्दा बढी युवाहरू सहभागी भएका थिए।