दोधारा चाँदनी एकीकृत जाँच चौकी (आइसिपी) निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) स्वीकृत भएको छ।
प्रधानमन्त्री सहित वन तथा वातावरण मन्त्रीस्तरको वैशाख १७ को निर्णयले दोधारा चाँदनी आइसिपीको इआइए स्वीकृत गरेको हो।
इआइए स्वीकृत भएसँगै कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालीका वडा–१ मा पर्ने गौरिशंकर मध्यवर्ती सामुदायिक वनको ११७ हेक्टर वन क्षेत्र मध्ये ६३ हेक्टर जग्गामा आयोजनाको कार्य सुरू हुने नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।
अब सुदूरपश्चिम प्रदेशमा व्यापार सहजीकरणका लागि आधुनिक स्तरको एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणको ढोका खुलेको छ।
समितिका अनुसार स्वीकृत भएको उक्त क्षेत्रमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको कार्य हुनेछ।
समितिले कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालीका अन्तर्गत वडा नं. १, २ र ३ मा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन प्रस्ताव गरेको थियो।
हाललाई वातावरण मन्त्रालयले वडा १ को लागि मात्र स्वीकृति दिएको छ।
वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत प्रतिवेदन अनुसार उक्त सामुदायिक वन क्षेत्रमा पर्ने एक जार नौ सय ८९ वटा रुखहरू काट्नु पर्नेछ।
त्यसको क्षतिपूर्ति बापत एक लाख ५० हजार पाँच सय २५ वटा रुखहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति तथा नगरपालिकासँग समन्वय गरी वृक्षारोपण गरिनेछ।