काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरेको छ।
अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ॐ हस्पिटल र हरिमाया बाह्रविसे फाउण्डेशनको संयुक्त आयोजनामा बाह्रबिसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित शिविरमा बाह्रविसे नगरपालिकाले समेत सहकार्य गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेको शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको थियो।
बाह्रबिसे वरपरका ग्रामीण समुदायका स्थानीयलाई विशेषज्ञ चिकित्सकहरूद्वारा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ॐ अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, मुटुरोग, छाति तथा श्वासप्रश्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, नाक कान घाँटी, स्त्री क्यान्सर परीक्षण, मनोरोग तथा फार्मेसी सेवा लगायतका विषयहरुमा ३० जना भन्दा बढी विशेषज्ञ चिकित्सक सहित शिविर सञ्चालन गरेको हो।
ॐ हस्पिटल सञ्चालक समितिका अध्यक्ष समेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डाक्टर आनन्दप्रसाद श्रेष्ठको नेतृत्वमा भएको स्वास्थ्य परीक्षण शिविरमा वरिष्ठ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै अन्य अत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिने व्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौंस्थित ॐ हस्पिटलमा विशेष छुट समेत प्रदान गरिने व्यवस्था गरिएको छ।