नेपालको अर्थतन्त्रमा बागमती प्रदेशको योगदान ३६.८ प्रतिशत पुगेको छ।
राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्यमा करिब ५३ खर्ब ८१ अर्ब रुपैयाँ हुने अनुमान गरिएकोमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको छ।
बागमती प्रदेशको कुल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्य करिब १९ खर्ब ८१ अर्ब रुपैयाँ हुने अनुमान छ भने सबैभन्दा कम ४.१ को योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्य करिब २ खर्ब २१ अर्ब रुपैयाँको हाराहारी हुने अनुमान छ।
कोशी प्रदेश–चालु वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उपभोक्ताको मूल्य करिब ८ खर्ब ४९ अर्ब रुपैयाँ हुने अनुमान छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिब ७ खर्ब ८० अर्ब रहेको तथ्यांक कार्यालयले जनाएको छ।
यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ प्रतिशत योगदान पुर्याउने अनुमान छ। यसैगरी, गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.४७ प्रतिशत थियो भने चालू वर्षमा संकुचन आई २ प्रतिशत मात्र कायम रहने अनुमान गरिएको छ।
मधेश प्रदेश–चालू वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्य करिब ७ खर्ब ७ अर्ब रुपैयाँ हुने अनुमान छ। गत वर्षको संशोधित अनुमान करिब ६ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आर्थिक समेत १३.१ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ।
गत वर्ष कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.६३ प्रतिशत थियो भने यसवर्ष संकुचन आई १.६९ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ।
बागमती प्रदेश–यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्य करिब १९ खर्ब ८१ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ भने गत वर्षको संशोधित अनुमान करिब १८ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ।
गत वर्ष राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ३७.९५ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस वर्ष ३६.८६ प्रतिशत योगदान पुर्याउने अनुमान छ।
गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ६.३० प्रतिशत थियो भने यस आर्थिक वर्षमा संकुचन आई १.४४ प्रतिशत मात्रै हुने अनुमान तथ्यांक कार्यलयको छ।
गण्डकी प्रदेश–यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्य करिब ४ खर्ब ८२ अर्ब रुपैयाँ हुने अनुमान छ। गत आर्थिक वर्षको संशोधित अनुमान करिब ४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ। गत आर्थिक वर्षमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ८.९ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस वर्ष ९ प्रतिशत योगदान पुर्याउने अनुमान छ।
गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ६.३५ प्रतिशत रहेको थियो भने यस वर्ष संकुचन आई ३.२६ प्रतिशत मात्र कायम रहने अनुमान छ।
लुम्बिनी प्रदेश–लुम्बिनी प्रदेशको यस आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्य करिब ७ खर्ब ६२ अर्ब रुपैयाँ हुने अनुमान छ भने गत वर्षको संशोधित अनुमान करिब ६ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ।
गत वर्ष राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस वर्ष १४.२५ प्रतिशत योगदान पुर्याउने अनुमान छ। यसैगरी गत वर्षमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ५.३ प्रतिशत थियो भने यस आर्थिक वर्षमा संकुचन आई २.०६ प्रतिशत मात्र कायम रहने अनुमान छ।
कर्णाली प्रदेश–यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्य करिब २ खर्ब २१ अर्ब रुपैयाँ हुने अनुमान छ। गत आर्थिक वर्षमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस वर्षमा समेत ४.१ प्रतिशत योगदान पुर्याउने अनुमान छ।
यसैगरी, गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.३२ प्रतिशत थियो भने यस वर्षमा संकुचन आई १.९१ प्रतिशत कायम रहने अनुमान छ।
सुदूरपश्चिम प्रदेश–यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्य करिब ३ खर्ब ७६ अर्ब रुपैयाँ हुने अनुमान छ भने गत वर्षको संशोधित अनुमान करिब ३ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ।
गत वर्ष कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.७८ प्रतिशत थियो भने यस वर्षमा संकुचन आई १.७८ प्रतिशत कायम रहने अनुमान छ।