आइडिपी एजुकेसन नेपालले पोखरामा आइएलटिएस अन कम्प्युटर टेस्ट सेन्टरको उद्घाटन गरेको छ। पोखराको रानीपौवामा कम्पनीले नयाँ टेस्ट सेन्टरको उद्घाटन गरेको हो।
नयाँ टेस्ट सेन्टरको उद्घाटनसँगै अब पोखरा र आसपासका विद्यार्थीहरूले कम्प्युटरबाटै आइएलटिएसको परीक्षा दिन सक्नेछन्। आइएलटिएस अन कम्प्युटर भन्नाले आइएलटिएसको परीक्षा कागजमा नभई कम्प्युटरमा दिने हो। आइडिपीले यसभन्दा अघि सन् २०१९ को मेदेखि काठमाडौंमा उक्त व्यवस्था सुरू गरेको छ।
आइडिपी एजुकेसनकको आइएलटिएस अपरेसनका प्रमुख कवीर खड्गीले पोखरामा टेस्ट सेन्टरको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै उनले भनेका छन्, 'अब पोखरा र आसपासका विद्यार्थी एवम् आइएलटिएस दिन इच्छुक व्यक्तिहरूले यहीबाट कम्प्युटरमा आइएलटिएस दिन सक्नुहुनेछ। परीक्षाको लागि मिति लिन, परीक्षा दिन र नतिजा कुर्न पहिले जस्तो अब हप्तौ लाग्ने छैन। कम्प्युटरबाट आइएलटिएस दिँदा केही दिनमै नतिजा पाउन सक्नुहुनेछ।'
अहिले आइएलटिएस परिक्षा दिनको लागि सुरूमा विद्यार्थीहरूले मिति छनौट गर्नुपर्ने हुन्छ। त्यसपछि तोकिएको मितिमा परीक्षा केन्द्रमा पुगेर परीक्षा दिनुपर्ने हुन्छ।
आइएलटिएसको लागि सुन्ने, पढ्ने, लेख्ने र बोल्ने गरी चार वटा परीक्षा दिनुपर्ने हुन्छ। परिक्षा सकेपछि नतिजा प्रकाशनको लागि थप केही दिन कुर्नुपर्छ। यस्तो अवस्थामा आइएलटिएसको लागि मिति लिएको दिनदेखि नतिजा प्रकाशनको लागि १३ दिनसम्म पनि लाग्ने हुन्छ।
आइएलटिएस अपरेसनका प्रमुख खड्गीका अनुसार कम्प्युटरबाट आइएलटिएस परीक्षा दिँदा भने तीन दिनदेखि पाँच दिनभित्र नतिजा प्राप्त गर्न सकिनेछ।
'छोटो समयमै परीक्षा सकेर नतिजा समेत प्रकाशन हुने हुँदा पछिल्लो समय आइएलटिएस अन कम्प्युटरप्रति मानिसहरूको चासो र रुचि बढेको छ,' उनले सेतोपाटीसँग भने।
कम्प्युटरबाट आइएलटिएस परीक्षा दिनको लागि एकै दिनमा चारै वटा परिक्षा (सुन्ने, पढ्ने, लेख्ने र बोल्ने) दिन सकिन्छ। अथवा बोल्ने परीक्षाको लागि अर्को मिति तय गरी बाँकी तीन परीक्षा एकै दिन दिन सकिन्छ। यसो हुँदा बढीमा साढेँ दुई घण्टामा सबै परीक्षा सकिन्छ।
करिब एक वर्षको बजार अध्ययनपछि शुक्रबार उद्घाटन भएको टेस्ट सेन्टरबाट आगामी जुन ११ तारिखदेखि परीक्षण परीक्षा सुरू हुने खड्गी बताउँछन्। कम्पनीले सन् २०१७ सालदेखि पोखराबाट पनि आइएलटिएस परीक्षा भने लिइरहेको छ।
कागज र कम्प्युटरमा दिइने आइएलटिएस परीक्षा एउटै हो। त्यसमा हुने प्रश्न र अंक दिने तरिका पनि एउटै हुन्छ। कागजमा भन्दा कम्प्युटरमा परीक्षा दिँदा समयको भने बचत हुन्छ।
'साथै केही व्यक्तिहरूको अक्षर राम्रो नभएकै कारण लिखितमा कम अंक आउने हुन सक्छ। त्यस्ता व्यक्तिहरूको लागि कम्प्युटरमा आइएलटिएस दिँदा बढी अंक ल्याउन मद्दत पुर्याउन सक्छ,' खड्की भन्छन्।
उनका अनुसार विदेशमा कम्प्युटरबाट आइएलटिएस दिनेको संख्या धेरै छ। नेपालमा भने यसको बजार विस्तार हुँदैछ।
अहिले नेपालमा १० प्रतिशतले मात्रै कम्प्युटरबाट आइएलटिएस परीक्षा दिइरहेका छन्। भविष्यमा यसको संख्या बढ्नेमा उनी सकारात्मक छन्।
अहिले आइडिपीले दैनिक दुई सिफ्टमा गरी कम्प्युटरबाट आइएलटिएस परीक्षा लिइरहेको छ। कागजमा परीक्षा दिनको लागि भने महिनामा जम्मा चार दिन छुट्याइएको छ। आवश्यकता अनुसार कम्प्युटरमा आइएलटिएस परीक्षा दिनको लागि सिफ्ट थप्न सकिने उनी आइएलटिएस प्रमुख खड्गी बताउँछन्।
खड्गीका अनुसार पोखरामा आइएलटिएस अन कम्प्युटरको सुरुआतसँगै अब ठाउँमा पनि केही यसै प्रकारको टेस्ट सेन्टरको उद्घाटन गर्ने योजनामा कम्पनी रहेको छ। साथै आइएलटिएस परीक्षाको नयाँ तरिकाहरू पनि भित्र्याउनेमा कम्पनी प्रतिबद्ध छ।
हाल आइडिपी नेपालले वार्षिक ५० हजारभन्दा बढी विद्यार्थीहरूको आइएलटिएस परीक्षा लिइरहेको छ। आइएलटिएस परीक्षा संसारभरको ११ हजारभन्दा बढी विश्वविद्यालय र संस्थाहरूद्वारा मान्यता प्राप्त परीक्षा हो।