२४ वर्षीय क्षितिज रेग्मीले नेपालमा अनलाइनबाट ट्युसन पढाउने उद्देश्यसहित ‘लर्न-एरा’ नामक अनलाइन कोर्स प्लेटफर्म सुरू गरेका छन्।
भारतको भेलोर इस्टिच्युट अफ टेक्नोलोजीमा अध्ययन गरेर फर्किएका रेग्मीले विद्यार्थीहरूलाई अनलाइनमार्फत पढाउने प्लेटफर्म सुरू गरेका हुन्। उनले आफ्ना केही साथीहरूसँग सहकार्य गरेर यो प्लेटफर्म सुरू गरेका हुन्।
‘पहिले अनलाइन भनेर रेकर्डेड सामग्री दिने गरिन्थ्यो, तर हामीले लाइभमा विद्यार्थीसँग लाइभ इन्टर्याक्ट हुने गरी व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘कुनै पनि उमेर र कक्षाका विद्यार्थीलाई आवश्यक पढाइ सम्बन्धी हरेक विषयको समाधान दिने गरी तयारी गरेका छौं।’
उनका अनुसार अहिले एमबिबिएस र इञ्जिनियरिङको इन्ट्रान्स तयारी कक्षाबाट सञ्चालन भइरहेको छ।
‘एउटा कक्षामा १६ जना मात्र राख्ने गरेका छौं, यसबाट धेरैभन्दा धेरै इन्टर्याक्टिभ पठनपाठन हुन्छ भन्ने विश्वास हो,’ उनले भने, ‘फिजिकल कक्षामा ७५ देखि सय जना सम्मलाई कोचाकोच गरेर पढाउँदा विद्यार्थीलाई बुझ्न पनि गाह्रो भइरहेको हुन्छ। तर, हामीले थोरै शुल्कमा विद्यार्थीका लागि लाभदायी हुने गरी कक्षा दिइरहेका छौं।’
उनका अनुसार हाल यस प्लेटफर्मबाट १७० जनाले तयारी कक्षा लिइरहेका छन्।
‘तीन महिनापछि एमबिबिएसबाट एमडीको तयारी कक्षा दिन्छौं, विद्यालय तहमा पनि कक्षाहरू लिन्छौं,’ उनले भने, ‘लर्न एराको सुरूवात भएसँगै विद्यार्थीले अब तयारी कक्षाका लागि काठमाडौंमै आउनुपर्ने बाध्यता पनि टरेको छ।’
भौतिक उपस्थितिमा हुने कक्षाका लागि २५ हजारभन्दा बढी लिइने गरेकामा आफूहरूले १४-१५ हजारसम्ममै पढाउने गरेको उनले बताए।
‘त्यसमाथि यो प्रविधिमार्फत पठनपाठन हुने कुरा भएकाले तल्लो कक्षाहरूमा भर्ना हुने विद्यार्थीलाई १८ हजारको प्याकेजको साथमा २४ हजारको स्मार्ट फोन पनि निःशुल्क दिने तयारी गरेका छौं,’ उनले भने, ‘सबैले अनलाइन प्लेटफर्मलाई टेस्ट गरुन् भनेर फाइदा नहेरी सेवा दिन खोजका हौं।’
माध्यमिक र निम्न माध्यम तहको कक्षामा पढ्ने विद्यार्थीको हकमा लर्न-एरा मात्र चल्ने किसिमले मोबाइल मोडिफाइ गरी दिने तयारी रहेको उनले सुनाए।