सहरी विकासमन्त्री सीता गुरूङले मुलुकको रूपान्तरणका लागि सुरूआत आफैंबाट गर्नुपर्ने बताएकी छन्।
बिहीबार पत्रकारहरूसँग भेटघाट गर्दै मन्त्री गुरूङले देश राम्रो बनाउन सबै सामु चुनौती भएको बताइन्।
'हामी कोही विदेश जाने भयौ भने तयारी यति धेरै गर्छौ कि टिस्यु पेपरसमेत किनेर जान्छौं। त्यहाँ बाहिर थुक्न पाइँदैन भनेर,' उनले भनिन्, 'जब विदेशबाट एयरपोर्ट फर्किन्छौं अनि झोलामा के–के फोहोर छ त्यहीँबाट फ्याँक्न सुरू गर्छौं।'
हाम्रो समग्र देश तथा यहाँको सहरी परिवेश सुधारका लागि सबै व्यक्ति संवेदनशील हुनुपर्ने उनको तर्क छ।
सहरी क्षेत्र बालबालिकादेखि बृद्धबृद्धासम्मलाई सहज हुनेगरी विकास हुनुपर्ने उनले बताइन्। सबैको समन्वय हुने हो भने सजिलै सफा, सुन्दर र शान्त सहर निर्माण गर्न सकिने उनको भनाइ छ।