थापाथलीस्थित द ब्रिटिस कलेज (टिबिसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी गर्ने सम्झौता गरेको छ।
फिनटेक उद्योगलाई बृहत बनाउने उद्देश्यको साथ दुई संस्थाबीच शुक्रबार भिभान्ता काठमाडौंमा सम्झौता भएको हो।
फिन्टेक एलायन्स नेपाल गैर नाफामुखी संस्था हो। जसले फिनटेक बजारमा सहभागीहरू र सरोकारवालाहरू बीचको सहकार्यलाई बढावा दिने काम गर्दै आएको छ।
यस संस्थाले सदस्यहरूलाई आधुनिक समाधानहरू मार्फत सामूहिक रूपमा उद्योगका चुनौतीहरूलाई सम्बोधन गर्ने अवसर प्रदान गर्दै आएको छ।
साझेदारीसँगै कलेजले फिन्टेक बजारसँगको सम्बन्धलाई सुदृढ गर्दै आफ्ना विद्यार्थीहरूको लागि पनि अवसरहरूको बाटो खोलेको छ।
यस सहकार्यले विद्यार्थीहरूलाई फ्यानले गर्दै आएको मासिक कार्यक्रमहरूमा विशेष पहुँच प्रदान गर्दछ।
फ्यानको मासिक कार्यक्रममा करिब १०० फिनटेक प्रोफेशनलहरूको सहभागिता रहँदै आएको छ।
सो कार्यक्रममा विद्यार्थीहरूले प्रतिष्ठित स्थानीय र अन्तर्राष्ट्रिय अतिथि वक्ताहरूद्वारा सेमिनारहरूमा पहुँचको अवसर पनि प्राप्त गर्नेछन्।
त्यस्तै, साझेदारीले विद्यार्थीहरूका लागि फिनटेक उद्योगभित्र इन्टर्नशिप र प्लेसमेन्ट सम्भावनाको बाटो पनि खोलिदिएको बताइएको छ।
उक्त साझेदारीबारे ब्रिटिश कलेजका उपप्रध्यापक, डा. प्याट्रिक म्याकक्रडनले भने 'यो सहकार्य विद्यार्थीहरूको लागि निकै फलदायी रहनेछ। विद्यार्थीहरूले आफूले छनौट गरिएका क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्ने र फिन्टेक व्यवस्थापन, फिन्टेक व्यवसायको विकास, साइबर सुरक्षा, र विकास जस्ता क्षेत्रहरूमा उनीहरूको प्रक्षेपणलाई आकार दिने र उत्कृष्ट सल्लाहकारहरूबाट मार्गदर्शन पाउने अवसर प्राप्त गर्नेछन्।'
त्यस्तै, फ्यानका अध्यक्ष सञ्जीव सुब्बाले पनि आवश्यक सीप, नेटवर्क र ज्ञानको साथ महत्वाकांक्षी फिन्टेक पेशेवरहरूलाई सशक्त बनाउन र गतिशील फिन्टेक परिदृश्यमा फस्टाउन सहयोगको सम्भावनालाई जोड दिने बताए।
उनले भने 'यो साझेदारीले प्रतिभाहरूलाई प्रोत्साहन गर्दै नवीनतालाई सघाउँछ र फिन्टेक इकोसिस्टमको विकासमा योगदान पुर्याउँछ।'