नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ।
नवनियुक्त मुख्य सचिव अर्याललाई बधाई एवम् शुभकामना दिने क्रममा चेम्बरले समयवद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवम् प्रभावकारी बनाउन सुझाव दिएको हो।
अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।
'समयवद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ। कर तिर्न जाँदा समेत घण्टौ लाइन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्त्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यक्ता छ,' उनले भने।
यस्तै संसदमा विचाराधिन अधिकांश आर्थिक विधेयकहरूलाई अगाडि बढाउन सहजीकरण गरिदिन पनि चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ।
चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउनु पर्नेमा समेत जोड दिएको छ। खासगरी ठूला जलविद्युत आयोजना, पूर्वाधार विकास, औद्योगिक तथा पर्यटन प्रवर्द्धनका लागि विदेशी लगानी सम्मेलन यथाशिघ्र आयोजना गर्न समेत चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ।
चेम्बर पदाधिकारीहरूसँगको भेटमा मुख्यसचिव अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशिल रहेको उनको भनाइ छ।
भन्सार प्रशासनलाई चुस्त बनाएर राजस्व संकलनको लक्ष्य वृद्धि एवम् पुँजीगत खर्च समयमै गर्ने गरी नीतिगत व्यवस्थाको तयारी भइरहेको समेत उनको जानकारी दिए।