लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा वैसाख १० गतेदेखि जेठ २० गतेसम्म भएको घुमौं लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ को विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको हातबाट पुरस्कार वितरण गरिएको हो।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यसको सेरोफेरोमा रहेका संस्कृति, पर्यटन, भेषभूषा लगायतका सबै कुरा समेटर लुम्बिनीको महत्व झल्काउने गरी छोटो समयमा अत्याधिक धेरै व्यक्तिहरू माझ पुग्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो।
नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न भएको उक्त पुरस्कार वितरण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपाली ठकुरीले आफ्नो मन्तव्य राख्दै लुम्बिनी राष्ट्रको अमूल्य हिरा भएको तर यसको महत्व प्रभावकारी रुपमा विश्वसामु फैलाउन नसकेको कुरा स्वीकार गर्दै प्रतियोगितामा भाग लिने सबैलाई विशेष धन्यवाद तथा बधाई ज्ञापन गरिन्।
सोही कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा. धनन्जय रेग्मीले अहिलेको जमाना टिकटकको भएकोले यस प्रतियोगिताले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने कुरामा आफू विश्वस्त भएको बताए।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले टिकटकको छोटो–छोटो भिडियोबाट धेरै जानकारी पाउने युगमा आफू धेरै बोल्न नचाहने बताउँदै सम्पूर्ण विजेता र सहभागीहरूलाई लुम्बिनीको महत्वको विषयमा २ करोडभन्दा धेरै व्यक्तिको माझ एकै पटक पुर्याउन महत्वपूर्ण भूमिका खेलेकोमा विशेष धन्यवाद दिए।
प्रतियोगिताको महत्व, यसबाट भएको उपलब्धि, विजेता छनौटको प्रक्रियालगायतका विषयमा विजय बराकोटीले विस्तारमा जानकारी गराएको यस कार्यक्रममा माननीय मन्त्री सुदन किरातीले आफ्नो छोटो मन्तव्य राख्दै आयोजक संस्थाहरू, प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई र आयोजना सम्पन्न गर्न सहयोगी भूमिका खेलेकोमा इरुटेक लगायत सबै संस्थाहरूलाई विशेष धन्यवाद दिए।