चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन सुरू गरेका छन्।
गत असार १४ गते १० वटा र २० गते १५ वटा गरी जम्मा २५ वटा सवारी साधन आएको हो।
सांग्रिला मोटर्सले चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास गर्नेगरी पेट्रोलबाट चल्ने सिट्रोन कारहरू काठमाडौं ल्याएको हो।
पहिलो चरणमा ३४ वटा गाडीहरू चोभार आउने जानकारी नेपाल इन्टरमोडल यातायात विकास समिति, चोभार सुक्खा बन्दरगाहलाई प्राप्त भएको उक्त प्रालिका एक अधिकारीले बताए।
हाल उक्त गाडीहरू वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुख्खा बन्दरगाहमा ल्याएकोमा चाँडै नै उक्त कम्पनीले इलेक्ट्रिक गाडीहरू सिधैं चोभार सुख्खा बन्दरगाहमा ल्याउने समेत बताइएकाे छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हाल सवारी साधन आउन सहजीकरण गरिएको र नाडा अटोमोवाइल एसोसिएसनसँग पनि धेरै पटक छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रकृया गराउन सबै प्रकृया व्यवस्थित भएपछि सवारी साधन चोभार आएको बताए।
यसका साथै अन्य व्यवसायीहरूसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको जानकारी गजुरेलले दिए।