बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयलाई विश्लेषण गर्दै बैंकिङ विज्ञ बीएन घर्तीले 'बैंकिङ अनुशासन, दिगो विकासका लागि' नामक पुस्तक बजारमा ल्याएका छन्।
पुस्तकमा बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्छ, किन अल्पदृष्टिबाट होइन दूरदृष्टिबाट अभिप्रेरित हुनु पर्छ, किन ग्राहक केन्द्रित हुनु पर्छ, उपयुक्त निक्षेपको मिश्रण किन हुनु पर्छ जस्ता विषय वस्तु समेटिएको छ।
कर्मचारीहरूलाई अनावश्यक बिक्री लक्ष्य किन तोक्नु हुँदैन, किन पारिश्रमिक दिनेगरी व्यवसायिक सञ्चालक नियुक्त गर्नुपर्छ, किन बैंकहरू एक नम्बर हुने दौडमा सामेल हुनु हुँदैन, फाइनान्स कम्पनी र विकास बैंक किन चाहिन्छन्, लघुवित्तले बहु बैंकिङ गरिरहेका छन् भन्ने थाहा पाउदा पाउँदै करिब ५ वर्ष राष्ट्र बैंक किन चुप लागेर बस्यो जस्ता चोटिला विषयहरूमा पुस्तक केन्द्रीत छ।
पुस्तकको समीक्षा गर्दै पूर्व बैंकर सशिन जोशी भन्छन्, 'बीएन घर्तीद्वारा लेखिएको 'बैंकिङ अनुशासन' शीर्षकको पुस्तक नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजाना हो। विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरूका लागि मात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरूका लागि पनि यो पुस्तक एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुनेछ।'
बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति, उच्च व्यवस्थापन, विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीले उक्त पुस्तक अध्ययन गरेमा त्यसले अहिले गरिरहेको बैंकिङ अभ्यासमा परिवर्तन ल्याउनका लागि भूमिका खेल्न सक्ने विश्वास लेखक घर्तीको छ।