ललितपुरस्थित नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसिआइटी)मा सूचना प्रविधि, तथा उद्यमशीलतासम्बन्धी बृहत प्रदर्शनी तथा करिअर फेयर सम्पन्न भएको छ।
सो प्रदर्शनीको उद्घाटन पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा दीपक बहादुर भण्डारीले गरेका हुन्।
उद्घाटन कार्यक्रममा कलेजका निर्देशक बिजुली प्रसाद राना तथा कृष्णचन्द्र पौडेल एवम् विभिन्न विभागीय प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।
प्रदर्शनीमा विशेषगरी ब्याचलर अफ इन्जिनियरिङ अन्तिम सेमेस्टरका विद्यार्थीहरूले सम्पन्न गरेका अनुसन्धानात्मक प्रोजेक्टहरू राखिएका थिए।
साथै, नेपालको सूचना प्रविधि बजारका प्रतिनिधि कम्पनीहरू एवम् हालै विश्वविद्यालय अनुदान आयोग (युजिसी) द्वारा सहयोग प्राप्त एडभान्स टेक्नोप्रेन्योरसिप कोर्स अन्तर्गत सफल उद्यमी विद्यार्थीहरूका ४० वटा स्टार्टअप बिजनेश प्रारूपहरू तथा ५२ वटा प्रविधिसम्बन्धी प्रोजेक्टहरू पनि प्रदर्शनीमा राखिएका थिए।
उक्त प्रदर्शनीमा कलेजका प्राध्यापक तथा कर्मचारी, कलेज बाहिरका विभिन्न संस्थाबाट आमन्त्रित अतिथिका साथै प्रदर्शनी हेर्न आएका जन सर्वसाधारणको उल्लेख्य उपस्थित रहेको थियो।
कार्यक्रमको उद्घाटनपछि प्रदर्शनीमा राखिएका प्रोजेक्टहरूको निरीक्षण गर्दै प्रमुख अतिथि रजिष्ट्रार प्रा. डा दीपक बहादुर भण्डारीले भने, 'सूचना प्रविधि र उद्यमशिलतालाई मिश्रण गर्दै विद्यार्थी भाइबहिनीहरूले गरेका प्रोजेक्टहरू नव प्रवर्तनमूलक छन्, प्रेरणादायी छन्, मलाई त नेपालमा यस्तो कार्यक्रम अरु कलेजमा भएको मेरो जानकारीमा आएको छैन। यस अर्थमा एनसिआइटी कलेजले वास्तवमै पथप्रदर्शकको भूमिका खेलेको जस्तो लाग्यो।'
उद्यमशीलतालाई प्रवर्द्धन गर्ने र विश्वविद्यालयको सैद्धान्तिक ज्ञानलाई व्यवहारीक रूपमा जीवनशैलीमा रूपान्तरण गर्ने यस्तो टेक्नोप्रेन्योरासिप कोर्सहरू अब विश्वविद्यालयको पाठ्यक्रममै समावेश गनुपर्ने उनले बताए।
कार्यक्रममा आमा संसार, सानो लगानी, अम्ब्रेला केयर, इ–स्वास्थ्य, होम अटोमेशन, स्टक भिजन, क्लिन गभ, क्रिमिनल फेस रेकग्निशन सिस्टम, हस्टल फाइन्डर, तथा किनौं अनलाइन सपिङ वेबसाइट जस्ता विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिएका थिए।
त्यसैगरी, एडभान्सड् टेक्नोप्रेन्योरसिप स्टार्टअप आइडियाहरु तर्फ जोशीहब्र्स, नारी, इ–सवारी, सजिलो लिभिङ, लगायतका नवीन वाणिज्य प्रारुपहरू प्रदर्शनीमा राखिएका थिए।
सो प्रदर्शनीको उद्देश्य भेन्चर क्यापिटलिस्ट एवम् एन्जल इन्वेस्टरहरूलाई लगानीका लागि आकर्षित गर्नु रहेको थियो।
कार्यक्रमको अन्त्यमा यस प्रदर्शनीका उत्कृष्ट प्रोजेक्टलाई पुरस्कृत गरिनुका साथै स्वयंसेवकहरू निर्णायक मण्डल लगायत नेपालका विभिन्न अग्रणी आइटी उद्योगी व्यवसायीहरूलाई सम्मान गरिएको थियो।