आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक पुस्तक प्रकाशन भएको छ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)का महानिर्देशक गोपाल प्रसाद तिवारी, फेडेरेसन अफ नेपाल एक्सपर्टस् एसोसिएसनका महासचिव उत्तम प्रसाद गौतम र व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टिइपिसी)का वरिष्ठ अधिकृत कृष्ण बजगाईंको संयुक्त प्रयासमा उक्त पुस्तक लेखिएको हो।
निर्यात सम्भावना भएका वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार पाउन सार्वजनिक, निजी र दातृनिकायको कस्तो भूमिका हुन्छ भन्नेबारे पुस्तकमा समेटिएको छ।
परम्परागत रूपमा निर्यात भइरहेका तथा उत्पादन विस्तार गर्न सकिने सम्भावना भएका कृषिजन्य, वनजन्य तथा उत्पादनमूलक उद्योगहरूमध्ये १० वटा वस्तुबारे पुस्तकमा लेखिएको छ।
ती वस्तुहरू–अलैंची, अदुवा, धनियाँ र बेसार, अगरबत्ति÷धुप, नेपाली हाते कागज, फेल्ट, अल्लो, जडीबुटी, यार्न/धागो (टेक्सटाइल तथा तयारी पोशाक), वनस्पति रेशाबाट बनेका वस्तुहरू (वास्केट, गुन्द्री, चट्टाई, डोको, डालो) हुन्।
परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौडेलले उक्त पुस्तक निर्यात प्रवर्द्धन गर्न उपयोगी हुने बताए।
'निर्यातसँग सम्बन्धित व्यक्तित्वहरूले पुस्तक लेख्नुभएको छ,' उनले भने, 'पक्कै निर्यात प्रवर्द्धनमा उपयोगी हुन्छ।'
उनले सरकारीस्तरबाट निर्यात प्रवर्द्धन गर्नेबारे छलफल भइरहेको बताए।
नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले आफ्नो उत्पादनलाई प्रतिस्पर्धी बनाउने उद्योगी व्यवसायीले पनि मेहनत गर्न पर्ने बताए।
'सामान उत्पादन गरे भनेर मात्रै हुँदैन,' उनले भने, 'बिक्री योग्य बनाउन आकर्षक प्याकेज र गुणस्तरमा ध्यान दिनुपर्छ।'