भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समयअनुसार पेट्रोलिम पदार्थबाट चल्ने ट्याक्सीभन्दा इलेक्ट्रोनिक ट्याक्सीतर्फको यात्रा थाल्न व्यवसायी र चालकहरूलाई आग्रह गरेका छन्।
मन्त्री ज्वालालाई भेट्न ट्याक्सी व्यवसायी सिंहदरबार पुगेका थिए। सोही क्रममा उनले सरकार इलेक्ट्रोनिक भेहिकल (इभी) मा जाने गरी कानुन निर्माणको तयारीमा रहेकोले समयअनुसार चल्ने तयारी गर्न आग्रह गरेका हुन्।
‘इलेक्ट्रोनिक भेहिकलतिर जानेगरी कानुन निर्माणको तयारीमा छौं, तपाईंहरूले पनि त्यही प्रकारको यात्रा थाल्न म आग्रह गर्दछु,’ मन्त्री ज्वालाको भनाइ उदृत गर्दै प्रेस संयोजक जीवन बिसीले भने।
ट्याक्सी व्यवसायीले इम्बोस्ड नम्बर देवनागिरीमा हुनुपर्ने, एसइई सकेका सबै विद्यार्थीलाई लाइसेन्स दिनेगरी तालिमको व्यवस्था गर्नुपर्ने, लामो दूरीमा बिरामी लिँदा अस्थायी रोड परमिट दिनुपर्ने जस्ता माग राखेका थिए।
काठमाडौं उपत्यकामा मात्र १२ हजार ३ सय ट्याक्सीहरू सञ्चालनमा छन्। इन्धनबाट चल्ने यी ट्याक्सीको संख्या घटाउने र विद्युतीय ट्याक्सीको संख्या बढाउँदै जानेमा व्यवसायीहरू पनि सकारात्मक छन्।
मन्त्री ज्वालाले ट्याक्सी व्यवसायीको पहिचान खुल्नेगरी ड्रेसको व्यवस्था गर्न र अनलाइन सेवामा पनि जान आग्रह गरेका छन्।