भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल सुरू गरेका छन्।
अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रित भएर छलफल सुरू गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताएका छन्।
नेपालमा विगत र वर्तमानका सडक अवस्था, भौगोलिक अवस्था र भविष्यमा कस्ता सडकमा बनाउँदा लाइफ टाइम सडकको सुरक्षा हुनसक्छ भन्ने विषयमा छलफल सुरू गरिएको छ।
छलफलमा मन्त्री ज्वालाले भौगोलिक विकटताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतीलाई कसरी हल गर्ने भन्ने विषयमा विज्ञ टोलीसँग राय सल्लाह मागेका छन्।
‘सडक गाउँबस्तीमा पुर्याउने हो, तर हाम्रा धेरै गाउँबस्तीहरू चुरे र महाभारत शृंखलामा रहेका छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौती छन्।’
पूर्वाधार विज्ञ सुरेशराज आचार्य, विज्ञ मेघराज घिताल, प्रोफेसर डा. तारानिधि भट्टराई, बिबी देउजा लगायतका विज्ञसँग छलफल सुरू गरेका छन्।
विज्ञ टोलीले दृश्यसहितको प्रस्तुति गरेको छ। धेरै खर्चिलो भए पनि नेपालको भूगोलअनुसार सुरूङ मार्गमा जान विज्ञ टोलीले सुझाव दिएको छ।
जति राम्रो सडक बनाए पनि बाढी पहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ। त्यो समस्या हल गर्न सुरूङ मार्गमा जान र सञ्चालनमा रहेका सडकहरूको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले सुझाव दिएको छ।
छलफलमा मन्त्रालयका सबै सहसचिवको पनि सहभागिता छ।