बजेटबाट व्यवस्था गरिएको सबै करहरूका विषयमा जानकारी दिने करसम्बन्धी पुस्तक सार्वजनिक गरिएको छ।
सिए शेषमणि दाहालद्वारा लिखित 'द पर्पल बुक अफ ट्याक्स'को छैटौं संस्करण बजारमा ल्याइएको हो।
यस पुस्तकमा आर्थिक ऐन, २०८० ले संसोधन गरेको आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन नेपाली तथा अंग्रेजी भाषमा प्रस्तुत गरिएको छ।
त्यस्तै, भन्सार र अन्तःशुल्कका व्यवस्थालाई सरल भाषामा बुझ्नका लागि त्यसका व्यवस्थाहरुलाई संक्षिप्त रुपमा समेत प्रस्तुत गरिएको छ।
त्यसका साथै, आर्थिक ऐनमार्फत लगाइएका सम्पूर्ण कर, महशुल, दस्तुर, शुल्क तथा रोयल्टीहरूका साथै आर्थिक ऐन, २०८० मार्फत करमा दिइएका छुट तथा सहुलियतहरूलाई समेत छुट्टाछुट्टै रुपमा समावेश गरिएको छ।
आयकर तथा मूल्य अभिवृद्धि कर निर्देशिकाले गरेका विशेष कानुनी व्याख्याहरू ऐनका व्यवस्थासँगै मिलाएर राखेका कारणले पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने विश्वास लेखक दाहालको छ।
यस पुस्तकमा आन्तरिक राजस्व विभागले जारी गरेका परीपत्र, पूर्वादेश तथा सर्वोच्च अदालतले कर सम्बन्धी मुद्दामा गरेका महत्वपूर्ण व्याख्या तथा फैसलालाई ऐनका दफासँगै मिलाएर राखेका कारण यो पुस्तक कर सम्बन्धी महत्वपूर्ण स्रोत सामाग्रीको रुपमा पाठकहरुले प्रयोग गर्ने गरेका छन्।
यो पुस्तक कर क्षेत्रका पुस्तकहरूमध्ये अत्यधिक रुचाइएको पुस्तक रहेको बताइएको छ।
यो पुस्तक दराज अनलाइन सपमार्फत पाठककै ठेगानामा निःशुल्क डेलिभरी गर्ने सुविधा रहेको छ। त्यसैगरी, उपत्यकाभित्र तथा उपत्यका बाहिरका मुख्य सहरका प्रमुख स्टेशनरी पसलमा पनि यो पुस्तक उपलब्ध रहेको छ।