रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ हाइड्रो पावर आयोजनाको मुख्य सुरूङ निर्माणको काम सकिएको छ।
आयोजनाले ३.८ किलोमिटर लामो सुरूङ निर्माण सम्पन्न गरेको हो।
गोसाइँकुण्ड गाउँपालिका- ५ स्याफ्रुबेंसीस्थित लाङटाङ खोलामा रहेको पावर हाउससम्म सुरूङ निर्माण गरिएको आयोजना निर्माण पक्ष आर एम ग्रुपका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए।
आयोजना निर्माणको काम दुई वर्षअघि कोभिड महामारीका बेला सुरू भएको थियो।
आयोजनाको सुरूङ विद्युत गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकालिकल उपकरण आपूर्तिको काम भइरहेको र सामान आएलगत्तै जडान कार्य सुरू हुने अर्यालले बताए।
अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको आर एम ग्रुपले जनाएको छ। आयोजनाको सबै प्याकेजको निर्माण वाइवा इन्फ्राकेटले गरिरहेको छ।
लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कुमारी र सिद्धार्थ बैंक तथा आरएम ग्रुपको लगानीमा आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ।
आयोजनामा दुई अर्ब ७३ करोड रुपैयाँमा सनराइज बैंकले डेढ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ५४ करोड रुपैयाँ, कुमारी बैंकले ३० करोड रुपैयाँ र बाँकी आरएम ग्रुपले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ।
एक वर्षभित्र आयोजनाको निर्माण सम्पन्न गरी उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य रहेको आरएम ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।