पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कर्णाली लगायत दुर्गम क्षेत्रमा देखिएको समस्या ३ दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कर्णाली प्रदेशका प्रतिनिधिसँगको डेलिगेसनमा मन्त्री किराँतीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
'मैले सबै कुरा बुझेको छु, अब ३ दिनभित्र समस्याको समाधान गर्नेछु', मन्त्री किराँतीले भने, 'कर्णालीबासीको समस्यालाई सरकारले महसुस गरेको छ।'
नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाउने निर्णय गरेका कारण एक सातादेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प भएको छ।
अस्पतालले रिफर गरेर पनि हवाईजहाज र हेलिकप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु भएको छ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा कर्णालीका सांसद, राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र पर्यटन व्यवसायीले मन्त्री किराँतीलाई भेटेर समस्या अवगत गराएका थिए।
प्राधिकरणले सडक नपुगेको दुर्गम ठाउँमा हेलिकप्टरले सामान झुन्ड्याएर गर्ने कार्गो सिलिङ फ्लाइटमा पनि रोक लगाएको छ।
माओवादी केन्द्र कर्णाली प्रदेशका पर्यटन विभाग प्रमुख मनराज सिम्खडाले महानिर्देशक अधिकारीले कर्णालीलगायत दुर्गम क्षेत्रको विकासमाथि धावा बोल्नुका साथै जनताको जीवनमाथि खेलवाड गरेको बताए।
'कर्णालीको जहाज र हेलिकप्टरमाथि लगाइएको प्रतिबन्ध तुरून्तै फुकुवा गरियोस्, नत्र त्यसको जिम्मेवारी डिजी अधिकारीले लिनुपर्नेछ', उनले भने।
प्राधिकरणले कहिलेकाहीँ हेलिकप्टरहरूले सुरक्षाकर्मीको समन्वय र निगरानीमा दुर्गम ठाउँमा उडान र रात्री विश्राम गर्ने गरेकोमा अहिले बास बस्नको लागि एयरपोर्टमै पुग्नुपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ।
यसले गर्दा दुर्गमका सेवाग्राहीलाई थप आर्थिक भार परेको सिम्खडाले बताए।