पाटन बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ।
यही बिहीबारदेखि सुरू हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुईदिनसम्म चल्नेछ। सम्मेलनको नेतृत्व क्याम्पसको अर्थशास्त्र विभागले गर्ने बताएको छ।
आजको अर्थशास्त्रले विकासको सबालमा नवीन सोच र तयारी ज्ञान आर्जन र सेयर सम्बोधन गर्न अन्तर्राष्ट्रिय सम्मेनलन आयोजना गर्न लागिएको अर्थशास्त्र विभाग प्रमुख डा. रघुवीर बिष्टले जानकारी दिए।
अर्थशास्त्रको नयाँ पुस्ता, नीति निर्माण तहमा रहेको वर्ग, प्राज्ञिक र बौद्धिक वर्ग एउटा मञ्चमा उपस्थित भएर प्राज्ञिक सोध तथा अनुसन्धानबाट आर्जित ज्ञान सेयर गर्न सम्मेलन आयोजना गर्न लागिएको उनकाे भनाइ छ।
'अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएका छन्। कोभिड महामारी, क्षेत्रीय द्धन्द्धजस्ता गतिविधिले अध्ययनको नयाँ शिरालाई जन्म दिएका छन्,' उनले भने, 'यी घटनाले ठूला र साना अर्थतन्त्रमा गैरपरम्परागत प्रभाव पार्न थालेको छ। उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको छ।'
नेपालजस्तो जटिल र पृथक भू-राजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँ पनलाई नजिकबाट नियाल्न सहज रहेको उनको भनाइ छ।
स्थापनाको ६९ वर्षमा क्याम्पसले पहिलोपल्ट अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलन बिहीबार र शुक्रबार ललितपुर पुल्चोकमा अवस्थित होटल स्क्वायरमा आयोजना हुँदैछ।
जसमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहनेछ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आंगिक/सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहनेछ।
सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् जो दुई दिन चल्ने ११ प्राविधिक शत्रमा प्रस्तुत हुनेछन्।
सम्मेलनमा २ विज्ञ वक्ताबाट 'किनोट लेक्चर' र ५ विज्ञ सम्मिलित १ प्यानल छलफलमार्फत् सहभागीले ज्ञान आर्जन गर्न सक्नेछन्। सम्मेलनमा कुल डेढ सय जनाको सहभागिता रहनेछ।
सम्मेलनले विकासका नयाँ मुद्दामाथि गहन छलफलमार्फत् ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीति निर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ।
विकासको एजेन्डालाई नवसिर्जित मुद्दासँग अंगिकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्नेछ।