चौधरी ग्रुपद्वारा सञ्चालित सिजी फुड्स पार्क तोडफोड भएको चाैधरी ग्रुपले जनाएको छ।
दिउँसो ३ बजेतिर एक बसमा आएको समूहले कर्मचारीमाथि हातपात गरेको र भाैतिक सम्पत्ति तोडफोड गरेको चाैधरी ग्रुपका प्रवक्ता मधुसुदन पाैडेलले बताए।
'दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमाथि तोडफोड गरेको छ,' पाैडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पाैडेलका अनुसार त्यहाँ कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिएका थिए। जस कारण आक्रमणकारीहरू त्यहाँबाट पछि हटेका थिए। त्यसलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसहरूलाई गिरफ्तार गरिएको छ।
चाैधरी ग्रुपले यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुर्याउन सक्नेतर्फ सचेत रहन ध्यानाकर्षण गराएको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको छ।
भविष्यमा यस्ता घटना हुन नदिन एवं औद्योगिक वातावरण कायम राख्न तत्काल पहल गर्न ग्रुपले अनुरोध गरेको छ।