आइभिएफ (इनभिट्रो फर्टिलाइजेशन) सहयोगी गर्भाधान प्रक्रियाहरूमध्ये सबैभन्दा प्रभावकारी प्रविधि हो।
आजको समयमा धेरै दम्पतीले धेरै कारणवश सन्तान प्राप्तिको समस्या भोग्नुपर्दा आइभिएफ कैयौँको उक्त सपना पूरा गरेको छ। आगामी दिनमा बाँझोपन समस्या झन् बढ्न सक्ने कुरा अनुसन्धानले देखाएको हुँदा आइभिएफ र यसको उपयोगिताको दायरा विस्तार भइरहेको छ।
दम्पतीहरू कुन अवस्थामा आइभिएफ प्रक्रियामा जानुपर्छ?
आइभिएफको योजना बनाउँदा दम्पतीले धेरै पक्षहरूलाई जाँचबुझ गर्नुपर्छ। आइभिएफ प्रक्रिया दम्पतीको स्वस्थ अवस्था, बाँझोपनको कारण साथै आर्थिक अवस्थामा पनि निर्भर हुन्छ। पुरुषमा मात्र बाँझोपनको समस्या हुँदा कतिपय सन्दर्भमा आइयुआइ विधिबाट निःसन्तान समस्याको समाधान गरिन्छ।
फेलोपिन ट्युब बन्द हुँदा र मध्यमदेखि गम्भीर इन्डिोमिट्रियोसिस्को समस्या हुँदा आइभिएफकै प्रयोग गरिन्छ। महिलाहरूमा उमेर बढी हुँदा, अण्डाको कम र अपरिपक्व विकास हुँदा वा आनुवंशिक कारणवश पिजिटीको आवश्यकता पर्दा आइभिएफ प्रक्रियालाई प्राथमिकता दिइन्छ।
आइभिएफ, आइयुआई वा अन्य बाँझोपन सम्बन्धी उपचार दम्पतीले आफ्नो प्रजनन विशेषज्ञसँग परामर्श गरेर मात्र लिनुपर्छ। यदि महिला वा पुरुषको डिम्ब वा शुक्राणु पहिल्यै फ्रिज गरेर राखिएको छ भने, आफूले चाहेको समयमा आइभिएफमार्फत् गर्भधारण गर्न सकिन्छ।
मौसम अनुसार हाम्रो शरीरको प्रजनन क्षमताः
विश्वभरका धेरै अध्ययनहरूले प्राकृतिक गर्भाधान र कृत्रिम जन्म दरमा मौसमी परिवर्तनहरू प्रदर्शन गरेका छन्।
प्राकृतिक गर्भाधानलाई असर गर्ने मौसमी कारकहरूमा शुक्रकीटको गुणस्तर, ओभुलेसन र सामाजिक मापदण्डहरू समावेश छन्।
प्रमाणहरूले दर्शाउँछ कि विश्वको केही ठाउँहरूमा गर्मीको समयमा शुक्राणुको गुणस्तरमा ह्रास आई गर्भाधान दर तथा वसन्तको समयमा जन्म दरमा कमी हुन सक्छ। यसबाहेक, अघिल्लो अवलोकनहरूले महिला प्रजनन प्रणाली, ओभुलेसन र इन्डोमेट्रियल ग्रहणशीलतामा वातावरणको प्रभाव रहने तथ्यांक देखाएको छ। मौसमी भिन्नताहरू बाहेक सामाजिक मापदण्डहरू र यौन गतिविधिको ढाँचाले पनि मानवमा प्रजनन र जन्म दरलाई असर गर्छ।
आइभिएफ प्रक्रियाको सफलतालाई मौसमले प्रभाव पार्छ कि पार्दैन?
सहायक प्रजनन उपचारको समयमा मौसमी परिवर्तनसम्बन्धी तथ्यांक ठोस र प्रस्ट छैन। नेशनल लाइब्रेरी मेडिशिनको तथ्यांक अनुसार महिनाहरू वा मौसमहरूले सांख्यिकीय रूपमा आइभिएफ सफलता दरमा महत्त्वपूर्ण परिवर्तन देखाएको छैन।
४ वर्षको अध्ययन अवधिमा, मासिक क्लिनिकल गर्भावस्था दर १८.२% देखि २७.९% सम्म देखाएको थियो जसमा औसत सफलता दर २३.३% थियो। त्यसरी सफलता दरको उतारचढावले कुनै पनि एक मौसममा सफलता दर अधिक भएको र कुनै मौसममा सफलता दर निकै न्यून रहेको तथ्य स्पष्ट पार्न सकेन।
त्यसैले गर्मी महिनामा आइभिइफ/आइसिएसआईको सफलता दर बढी हुने कुरा भ्रम मात्र हो। प्राकृतिक गर्भाधानमा मौसमी प्रभाव रहे पनि त्यो मात्र सफलताको कारक तत्व होइन। गर्मी महिनामा हाम्रो शरीरको पोषणको संयन्त्र राम्रो हुने भएकाले धेरै मानिसले गर्मी महिनामा निषेचन र प्रत्यारोपणको प्रक्रिया तुलनात्मक रूपमा सहज हुन्छ भनी अड्कल गर्दछन्। तर त्यो कुरा सत्य होइन।
सहयोगी गर्भाधान प्रक्रिया निकै नियन्त्रित वातावरणमा सञ्चालन गरिने हुँदा आइभिएफको योजना बनाउँदा दम्पतीले एउटा मौसममा मात्र आइभिएफ प्रत्यारोपणको तालिका बनाउन आवश्यक छैन। तर गर्मी महिनामा धेरै थरिको बिमारी फैलिने जोखिम बढी हुँदा गर्मी महिनामा स्वास्थ्यको थप ख्याल भने राख्न जरुरी हुन्छ।