हालैको आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिपछि पुनर्निर्माणमा हातेमालो गर्न लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड अगाडि बढेको छ।
ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गतको यस कम्पनीले आगामी तीन महिनासम्मको कुल बिक्री रकमको एक प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने घोषणा गरेको छ।
कम्पनीले यस कदमलाई राष्ट्रिय उत्तरदायित्व र ऐतिहासिक योगदानको रूपमा लिएको जनाएको छ।
‘हाम्रा संरचना हामी आफैं बनाउँछौं’ भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै कम्पनीले आफ्नो उत्पादन बिक्रीबाट प्राप्त रकमको एक अंश पुनर्निर्माणमा प्रयोग गर्ने निर्णय गरेको हो। यसमार्फत आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलने कम्पनीको विश्वास छ।
कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुका अनुसार, ‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।’
निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्टले यस कदममार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त तुल्याएको बताइएको छ।