कोभिड महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जागृत गर्ने भन्दै लुम्बिनी प्रदेशका पर्यटक स्तरका होटल व्यवसायीहरू संगठित बनेका छन्।
एक अर्काबीच प्रतिस्पर्धा होइन, एकले अर्काको प्रवर्द्धन भन्ने नारासहित हालै मात्र गठन गरिएको नेप्लिज होटेलियर्स एसोसिएसन (एनएचए) लुम्बिनीमा पर्यटकस्तर र त्यसभन्दा माथि पाँच तारेसम्म मापदण्ड पुगेका ४१ वटा होटल आबद्ध भइसकेका छन्।
एसोसिएसनका अध्यक्ष प्रवीण पाठकका अनुसार रूपन्देहीमा मात्र पर्यटकस्तर र त्यसभन्दा माथि पाँच तारेसम्म मापदण्ड पुगेका एक सयभन्दा बढी होटल सञ्चालनमा छन्। कतिपय थपिने क्रममा छन्। यी होटलमा कम्तीमा ६ करोडदेखि साढे ३ अर्ब सम्म लगानी गरिएका छन्।
तर निजी क्षेत्रको यति ठूलो लगानी रहेको पर्यटन क्षेत्रलाई सरकारले उपेक्षा गर्दा लगानी अनुसारको प्रतिफल पाउन नसकेको उनीहरूको गुनासो छ।
एसोसिएसनका अध्यक्ष पाठकले आफूहरू नेपाल पर्यटकहरूका लागि सस्तो होइन, उत्कृष्ट पर्यटकीय गन्तव्य हो भन्ने मान्यता स्थापित गर्न लागिपरे पनि सरकारले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको गुनासो गरे।
‘कोभिडका कारण झण्डै चार वर्ष शून्यजस्तै बनेको नेपालको पर्यटन क्षेत्र केही माथि उठ्ने प्रयासमा छ, आफ्नै ब्राण्डमा स्टार होटल सञ्चालन गर्ने मात्र होइन अहिले विदेशी फ्रेन्चाइज होटलहरू पनि नेपालमा आउने क्रम सुरू भएको छ। यस्तो अवस्थामा सरकारले होटल व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ,’ अध्यक्ष पाठकले भने।
नेपालमा सबभन्दा राम्रो सम्भावना भएको पर्यटन क्षेत्र नै रहेकोले सरकारले होटललाई उद्योग सरह मान्यता दिएर विद्युत महसुल, बैंकको ब्याजदर, भन्सार शुल्क लगायतमा सहुलियत दिनुपर्ने उनीहरूको माग छ।
व्यवसायीहरूले नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटकहरूको योगदान ठूलो रहेकोले भारतीय पर्यटकलाई नेपाल आगमनमा नीतिगत सहजता र सम्मानजनक व्यवहार गर्न सरकारसँग माग गरे।
‘नेपालको पर्यटन व्यवसाय फस्टाउने एउटा आधार भारतीय पर्यटक हुन् तर अध्यागमन कार्यालयमा व्यहोर्नुपर्ने झण्झट, सास्ती र २५ हजार रुपैयाँ मात्र ल्याउन पाउने प्रावधानले पर्यटन क्षेत्र फस्टाउन सक्दैन यस्ता अव्यावहारिक र झन्झटिलो नीति नियमहरू संशोधन गरी पर्यटकमैत्री बनाउनुपर्छ,’ एसोसिएसनका उपाध्यक्ष दिलिप गौचनले भने।
प्राकृतिक सुन्दरता, आधा घण्टाकै फरकमा अलगअलग हावापानी, रमणीय वातावरण, बुद्धजन्मस्थल लुम्बिनी लगायतका विश्व सम्पदा भएकाले यहाँ माइस टुरिजम (मिटिङ, इन्सेन्टिभ, कन्फेरेन्स र एक्जिबिसन) को राम्रो सम्भावना भए पनि सरकारी नीति बाधक भएको गौचनले गुनासो गरे।
भारत उत्तर प्रदेशमा रहेको २४ करोड बढी जनसंख्याको एक/दुई प्रतिशतलाई मात्रै नेपाल भित्र्याउन सके पनि यस नेपालको अर्थतन्त्रमा ठूलो सुधार आउने उनको भनाइ छ।
गौचनका अनुसार कोरोना महामारी अघि स्थलमार्ग हुँदै बेलहिया नाकाबाट एक लाख ६० हजार विदेशी पर्यटक आएकोमा गत वर्ष ८० हजार मात्र आएको तथ्यांक छ।
बुद्धजन्मस्थल लुम्बिनी, नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरेको जितगढी किल्ला, नुवाकोट गढी, मानव पुर्खा रामापिथेकसको बंगारा भेटिएको स्थान, नेपालको ताजमहल भनेर चिनिने प्रेमको प्रतीक रानीमहल, स्वर्गद्वारी, बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका स्थलहरूको ब्राण्डिङ र बजारीकरणमा पर्याप्त लगानी गर्नुपर्ने गौचनले औंल्याए।
‘विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र तुलनात्मक लाभका हिसाबले राम्रो फाइदा लिन सकिने क्षेत्र पर्यटन नै हो, त्यसको लागि सरकारले पर्यटनलाई मुख्य एजेण्डा बनाउनुपर्छ,’ गौचनले भने।
एसोसिएसनका महासचिव विकास पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतका पूर्वाधार हेरेर पर्यटन क्षेत्रमा गरिएको अर्बौं लगानी यी संरचना सञ्चालनमा नआउँदा जोखिममा परेको बताए।
‘विमानस्थल सरकारले कसरी सञ्चालन गर्ने हो छिटो गरोस्, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्न सरकारले नसक्ने हो भने हामीलाई देओस् सञ्चालनको लागि तयार छौं,’ पाण्डेले भने।
नेपाली आकाशलाई कालोसूचीबाट हटाउन, आन्तरिक उडानमा नेपाली र विदेशीलाई हवाई भाडादर समान बनाउन, रूपन्देहीलाई क्यासिनो हब, नाइट लाइफ र वेडिङ डेस्टिनेसन (भारतीयहरू यहाँ आएर विवाह र भोज गर्ने गन्तव्य) को रूपमा विकास गर्न उनीहरूले माग गरेका छन्।