साहसिक पर्यटकको हब 'द क्लिफ' नेपालले नयाँ वर्ष २०८१ को अवसरमा 'नाइट बञ्जी' गर्ने भएको छ। साथै चैत ३० गते साँझ लाइभ म्युजिक तथा 'फायर डान्स' गरी नयाँ वर्षलाई स्वागत गर्ने तयारी गरेको छ।
विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बञ्जी गराउँदै आएको थियो।
नयाँ वर्षको अवसरमा कम्पनीले चैत ३० र वैशाख १ क्लिफको रिसोर्टमा रूम बुकिङ गर्दा १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ। बुकिङका लागि ०६७–४२२२२९ मा सम्पर्क गर्न सकिने छ।
अध्यक्ष कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालनमा छ।
बञ्जी र स्विङसँगै विश्वकै अग्लो व्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङलगायत गतिविधि सञ्चालनमा छन्।